जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग ७ बुँदे सहमति भएको बताएका छन् ।
लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा ७ बुँदे सहमति भएको गृहमन्त्रीले बताए ।
मृतकका परिवारले राखेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए । यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उनले बताए ।
गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताए ।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।








प्रतिक्रिया दिनुहोस्