Skip to content

नेफ्स्कूनका अध्यक्ष र सीईओको अष्ट्रेलिया भ्रमणबारे आलोचना, यसो भन्छन् डा‍. सापकोटा

ओकूबाट चन्द्रागिरि सहकारी सम्मानित हुँदै गर्दा सहभागी नेफ्स्कूनका अध्यक्ष र सीईओ समेत, तस्विर: चन्द्रागिरि सहकारीको सामाजिक सञ्जाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाको करिब ५ दिनको अष्ट्रेलियाको भ्रमणबारे सहकारी क्षेत्रमा निकै आलोचना भइरहेको छ ।

नेफ्स्कुनको सदस्य रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ बाट सम्मानित भएको अवसरमा ढकाल र डा सापकोटा अष्ट्रेलिया पुगेका थिए । साउन ५ गते अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद (ओकू) ले आफ्नो साधारणसभाका अवसरमा उक्त पुरस्कार दिएको हो ।

यो संस्था सहकारी मूल्य, मान्यता अनुसार सञ्चालन हुनेमध्ये अग्रस्थानमा नै पर्ने गरेको संस्थाको दाबी छ । यो अवार्डलाई नेपालको साकोस अभियानको ठुलो अवार्डको रुपमा पनि लिइएको छ ।

डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सदस्यलाई सहज, छरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै संस्थागत सञ्चालनलाई प्रविधिमैत्री बनाएको योगदानको कदर स्वरूप चन्द्रागिरी साकोसलाई सम्मान प्रदान गरिएको परिषदले समेत जनाएको छ । उक्त कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष र सीईओ बलमिच्याई गरेर सञ्चालक समितिबाट निर्णय गरेर वैदेशिक भ्रमणमा गएपछि निकै आलोचना भइरहेको छ ।

असार २८ गते बसेको नेफ्स्कून सञ्चालक समितिको बैठकमा अध्यक्ष र सीईओ ओकूको कार्यक्रममा जाने प्रस्ताव पेश गरिएको थियो । त्यो प्रस्ताव जसरी पनि पास गर्नुपर्ने बाध्यता थियो । बैठकमा केही सञ्चालकहरुले सहकारी अभियानमा यो अवार्डको महत्व ठूलो भएपनि नेफ्स्कूनको सहभागीता बारे प्रश्न उठाएका थिए ।

बैठकमा नेफ्स्कूनको वित्तीय अवस्था कमजोर बन्दै गएको, सदस्य संस्थाहरुलाई कुनै लाभ दिन नसकेको समयमा अध्यक्ष र सीईओले मनलाग्दी भ्रमण गर्न नहुने आवाज उठेको थियो । साथै केही सञ्चालकले नेफ्स्कून अहिले ओकूको सदस्य समेत नभएको बेला त्यस्ता कार्यक्रममा जान नहुने सुझाव समेत दिएका थिए ।

नेफ्स्कूनले सञ्चालन खर्च घटाउन भन्दै ओकूसँगको सदस्यता पछिल्ला तीन वर्ष यता नविकरण गरेको छैन । यसको सदस्यता शुल्क बार्षिक ३५ लाख रहेको छ । २८ गतेको बैठकमा यो विषय पनि उठेको बताइएको छ ।

“असार २८ गते बोलाइएको सञ्चालक समितिको बैठकमा एकाएक अध्यक्ष र सीईओ अष्ट्रेलिया जाने प्रस्ताव आयो, प्रस्ताव आएपछि सदस्य नभएको संस्थाको कार्यक्रममा किन जाने, आज एउटा संस्थाको कार्यक्रममा जाँदा भोली अन्य संस्थाले यस्ता सम्मान पाए भने जाने की नजाने ? जस्ता प्रश्न उठे” एक सञ्चालकले भने, “सायद उहाँहरुले जान आउन जहाज टिकटदेखि सबै व्यवस्थापन गर्नु भएको भएर होला जसरी पनि उक्त प्रस्ताव पारित गरेर विदेश घुमेर समेत आइसक्नु भयो ।”

ति सञ्चालकका अनुसार कहिले को कहाँ गयो भन्नु भन्दा पनि सदस्यता नविकरण नगरेको संस्थाको कार्यक्रममा किन जाने ? त्यसले भोलीको दिनमा पर्ने प्रभाव के हो ? कुनै संस्थाले सम्मान पाउँदा जाने, कुनैमा नजाने गरेर भोलीका दिनमा विभेद भयो भने त्यसको जिम्मेवारी के हुने ?

संस्थाले सदस्यको हितलाई हेरेर काम गर्नु भन्दा पनि विदेश भ्रमण भनेपछि जस्तो सुकै भएपनि जाने नेतृत्वको प्रवृतिले भोलीका दिनमा निम्त्याउने समस्याका बारेमा बैठकमा चर्चा भएको ति सञ्चालकले लगानीन्यूजलाई बताए । उनका अनुसार यस्ता भ्रमणमा हुने खर्च कालान्तरमा सहकारीका साधारण बचतकर्ताको बचत भएको कसैले पनि बिर्सन नहुने धारणा राखे ।

यता नेफ्स्कूनमा अहिलेसम्म विदेश भ्रमणमा जाने विषयमा नीतिगत स्पष्टता छैन । वैदेशिक भ्रमण गरेर फर्केपछि पेश गरेको बिल अनुसार भर्पाइ गर्नुको विकल्प नभएको बताइन्छ ।
“संस्थाले सदस्यलाई उचित प्रतिफल दिन नसकेर, वित्तीय अवस्था कमजोर भयो भनेर पहिला ओकूको सदस्य नविकरण नगर्ने, अहिले त्यही संस्थाको कार्यक्रममा जानु नैतिक रुपमा वित्तीय प्रश्न बैठकमा उठेको हो” ति सञ्चालकले भने ।

सदस्य संस्थाले केही नपाउने, सञ्चालक, व्यवस्थापक वैदेशिक भ्रमण भनेपछि हुरुक्कै हुने प्रवृति सहकारीको क्षेत्रमा निकै विकृत रुपमा रहेको ति सञ्चालकको बुझाइ छ ।

नेफ्स्कुनका ति सञ्चालकले संस्थाको खर्च अनावश्यक बढेको भन्दै नेपाल राष्ट्र बैंकले सहकारी बैंकका अध्यक्ष, सीईओ लगायतलाई वैदेशिक भ्रमणमा अंकुश लगाएको विषय पनि स्मरण गरे ।

यता नेफ्स्कुनका सीईओ डा. सापकोटाले उक्त भ्रमणका विषयमा आलोचना गर्नुको कुनै अर्थ नभएको दाबी गरे ।

विश्वस्तरका यस्ता कार्यक्रम हुँदा त्यहाँ सहभागी हुनु राम्रो विषय भएको उनको भनाई छ । उनले आफूहरु ओकूको साधारणसभामा सहभागी भएको मात्रै नभएर अफ्रिकाका २३ वटा संस्थालाई दिएको तालिममा सहभागी हुने अवसर पाएको बताए ।

साथै सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी प्राधिकरणले नेफ्स्कुनलाई वित्तीय कारोबारमा नलागी प्रवर्धन, अनुगमनमा लाग्नु भनेको भएर त्यो विषयमा पनि छलफल भएको बताए । साथै उनले सरकारले अहिले सहकारी ऐन र बचत तथा ऋण ऐन ल्याउन लागेकाले त्यसमा ओकूको सहयोगका विषयमा पनि छलफल भएको दाबी गरे ।

यस्तो महत्वपूर्ण कार्यक्रममा जाँदा नेफ्स्कुनको २ लाख ६० हजार हवाई खर्च मात्रै भएको सीईओ सापकोटाको भनाइ छ ।

उनले नेफ्स्कुन सन् २०१८ देखि २०२२ सम्म सदस्य रहेको र सदस्यता शुल्क बार्षिक ३५ लाख रुपैयाँ रहेको बताए । २०२२ यता नेफ्स्कुनले सदस्यता शुल्क नविकरण गरेको छैन । सीईओ सापकोटाले ओकूनले नेपाल सदस्य नबान्दा पनि २०७४ मा सहकारी ऐन बन्दा सहयोग गरेको स्मरण गर्दै अब बन्न लागेको बचत तथा ऋण ऐनमा पनि सहयोग गर्ने अपेक्षा रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T