काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म आउँदा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले दुई खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्कआर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को तुलनामा जीवन बीमा कम्पनीहरूको बीमा व्यवसाय १२.४३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १२.३४ प्रतिशत वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म यस कम्पनीले यस्तो शुल्क ४७ अर्ब ७९ करोड १ लाख रुपैयाँमात्र कमाएको थियो ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै ११.०६ प्रतिशत वृद्धि हासिल गरेको छ। यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यस कम्पनीको बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५७ प्रतिशतले बढेको हो ।
यसैगरी, हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस कम्पनीको बीमा शुल्क अघिल्लो आर्थिक वर्षको असार मसान्तको भन्दा ५.१६ प्रतिशतले बढेको हो ।
त्यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एसियन लाइफ इन्स्योरेन्सले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
राष्ट्रिय जीवन बीमा कम्पनीको भने अघिल्लो आर्थिक वर्षको तुलनामा व्यवसाय घटेको छ। यस कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २.१९ प्रतिशतले घटेको हो।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब १६ करोड ९० लाख रुपैयाँ,सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
आइएमई लाइफ इन्स्योरेन्सले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ र मेट लाइफ इन्स्योरेन्सले ६ अर्ब ८८ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ अर्ब ३३ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब ६३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्