काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकहरुलाई बोलाएर विभिन्न प्रश्न गरेका छन् ।
मन्त्री वाग्लेले कार्यकारी निर्देशकहरुलाई बोलाएर राष्ट्र बैकको काम कारबाहीका साथै कर्मचारीको आत्मविश्वासमा समेत प्रश्न गरेका छन् ।
देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका कार्यकारीहरुसँग अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्न उक्त बैठक गरिएको भनिएको थियो ।
उक्त बैठकमा मन्त्री वाग्लेले सोधेका केही प्रश्न भने गम्भिर खालका रहेका छन् ।
यस्ता छन् मन्त्री वाग्लेले गरेका प्रश्न ?
के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौँ ?
के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँ ?
धेरै ठाउँमा सकेका थियौँ। तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन् ?
किन निजी क्षेत्र क्रमश: प्रतिरक्षात्मक बन्दै गयो ?
किन लगानीको आत्मविश्वास कमजोर भयो ?
किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेन ?
किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयो ?
किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ?
नेपाल राष्ट्र बैंक यस यात्रामा आफ्नो भूमिका कसरी पुनर्परिभाषित गर्छ ?
के हाम्रो नीतिगत स्पष्टता पर्याप्त छ ?
के हाम्रो निर्णय प्रक्रियामा पर्याप्त तत्परता छ ?
के हामी समस्या समाधान गर्ने नियामक हौँ, कि समस्या व्यवस्थापन गर्ने नियामक मात्र ?
हामीले अहिलेको आर्थिक परिस्थितिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले हेर्ने कि अवसर सिर्जनाको दृष्टिले पनि हेर्ने ?
सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्छ ?
उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ ?
बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ ?
पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ ?
मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने ?
डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने ?





प्रतिक्रिया दिनुहोस्