काठमाडौं । नेपालमा विशेषगरी कोरोना महामारीपछि विद्युतीय भूक्तानी बढ्दै गएको छ । पछिल्लो समय यसले निकै गति पनि लिएको छ ।
ई-वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोडलगायतका डिजिटल भुक्तानी बढिरहेका छन् ।
पछिल्ला वर्षहरूमा ई–कमर्स तथा प्वाइन्ट अफ सेल (पीओएस) मार्फत हुने कारोबार पनि उल्लेख्य रूपमा बढेको छ। कोरोनापछि क्यूआर भुक्तानी, ई–वालेट र मोबाइल बैंकिङजस्ता द्रुत भुक्तानी प्रणाली (फास्टर पेमेन्ट सिस्टम) को प्रयोग तीव्र रूपमा विस्तार भएको नेपाल राष्ट्र बैंकले गरेको अध्ययन रिपोर्टले देखाएको छ ।
सन् २०२३/२४ को तुलनामा सन् २०२४/२५ मा फास्टर पेमेन्ट सिस्टममार्फत हुने कारोबार संख्या ३४.६ प्रतिशत र कारोबार रकम ३३.७ प्रतिशतले बढेको छ ।
यो अवधिमा क्यूआरमार्फत हुने कारोबार संख्या ९२.५ प्रतिशत तथा कारोबार रकम ९१.८ प्रतिशतले बढेको छ ।
डेबिट र क्रेडिट कार्डमार्फत हुने भुक्तानी खासै बढ्न सकेको छैन ।
सन् २०२४/२५ मा प्रिपेड कार्डमार्फत हुने कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७ प्रतिशत र कारोबार रकम ६६.५ प्रतिशतले बढेको छ ।
अनलाइन कार्डमार्फत हुने भुक्तानी पनि तीव्र रूपमा विस्तार भइरहेको छ । सन् २०२४/२५ मा अनलाइन कार्ड कारोबार संख्या ३९.९ प्रतिशत तथा कारोबार रकम ५३.५ प्रतिशतले बढेको छ ।
ठूला रकमका भुक्तानी तथा फर्छ्योटका लागि प्रयोग हुने रियल–टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली भने अझै पनि प्रमुख पूर्वाधारका रूपमा रहेको छ। सन् २०२४/२५ मा आरटीजीएसमार्फत हुने कारोबार संख्या ४ प्रतिशतले बढ्दा कारोबार रकम भने ९४.४ प्रतिशतले उल्लेखनीय वृद्धि भएको छ।
त्यसैगरी, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) प्रणालीमार्फत हुने कारोबार संख्या ५.१ प्रतिशत र कारोबार रकम ६.६ प्रतिशतले बढेको छ। यद्यपि, डिजिटल वित्तीय सेवाको द्रुत विस्तारसँगै चेक तथा ईसीसी प्रणालीको प्रयोग भने क्रमशः घट्दो वृद्धिदरमा सीमित हुँदै गएको देखिएको छ।





प्रतिक्रिया दिनुहोस्