Skip to content

ग्रीन सेभिङ्समार्फत हरित भविष्यतर्फ वेष्ट फाइनान्सको पहल, ६ सय बिरुवा रोपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ को कार्यान्वयन तथा हरित वित्तको प्रवद्र्धन गर्ने उद्देश्यले वेष्ट फाइनान्स कम्पनी लिमिटेडले ‘ग्रीन सेभिङ्स’ निक्षेप योजना सञ्चालनमा ल्याएको छ।

हरित वित्तलाई प्रोत्साहन गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले ल्याइएको यस निक्षेप योजनाअन्तर्गत प्रत्येक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था गरिएको छ। सोही अभियानलाई निरन्तरता दिँदै सामुदायिक वन दिवस २०८३ को अवसरमा वेष्ट फाइनान्सको अग्रसरतामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

‘सामुदायिक वनको अबको बाटो स् युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने यस वर्षको नारालाई आत्मसात गर्दै वेष्ट फाइनान्सले महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्य तथा जिल्ला वन कार्यालय, ललितपुरको सहयोगमा गोदावरी नगरपालिका–५, ललितपुरमा वृक्षारोपण गरेको हो।

कार्यक्रमअन्तर्गत महत गाउँ सल्लाघारी सामुदायिक वनको सेक्टर ‘ए’, ‘बी’ र ‘सी’ क्षेत्रमा गरी ६ सय वटा बिरुवा रोपिएको फाइनान्सले जनाएको छ।

रोपिएका बिरुवाको नियमित गोडमेल, मलजल तथा संरक्षण गर्ने जिम्मेवारी महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिले लिएको छ। कुनै बिरुवा मरेमा सो स्थानमा पुनः अर्को बिरुवा रोप्ने तथा रोपिएका बिरुवाको कम्तीमा पाँच वर्षसम्म संरक्षण र व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ।

वेष्ट फाइनान्सका अनुसार यस अभियानले जैविक विविधताको संरक्षण, कार्बन अवशोषणमा वृद्धि, जलाधार संरक्षण, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वृक्षारोपण कार्यक्रममा वेष्ट फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष प्रा।डा। रामजी गौतम, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा फाइनान्सका कर्मचारीहरूको सहभागिता थियो।

त्यस्तै, महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष रञ्जिता महतसहित कार्यसमिति सदस्यहरू, जिल्ला वन कार्यालय ललितपुरका जिल्ला वन अधिकृत सन्जोग श्रेष्ठ, बज्रबाराही सब–डिभिजन वन कार्यालयका वन अधिकृत शान्तकुमार श्रेष्ठ, गोदावरी नगरपालिका–५ का वडाध्यक्ष, लेले प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी, अमरक्रान्ति सेकेण्डरी इङ्लिस स्कुल तथा सरस्वती विद्यालयका विद्यार्थी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका उपभोक्ता तथा स्थानीय समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा १२० जनाभन्दा बढीको सहभागिता रहेको फाइनान्सले जनाएको छ।

वेष्ट फाइनान्सले हरित वित्त, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई एकैसाथ अघि बढाउने उद्देश्यले ‘एक बचत, एक बिरुवा, हरित भविष्य’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न खोजिएको जनाएको छ।

वित्तीय सेवामार्फत वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने यस्तो पहलले दिगो विकासका लक्ष्य हासिल गर्न तथा हरित अर्थतन्त्र निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास फाइनान्सले लिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T