काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको दैनिक कार्य सञ्चालनमा कुनै समस्या नरहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा राष्ट्र बैंकको जानकारीमा आए पनि हाल बैंकको तरलता र वित्तीय सबलताका सूचकहरू सन्तोषजनक रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी व्यवस्थाका विषयमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंकको वित्तीय अवस्था तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेकाले बैंकको दैनिक कार्य सञ्चालनमा कुनै प्रकारको जटिलता उत्पन्न हुने अवस्था छैन।
जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका साथै बैंकको दैनिक सञ्चालन अवस्थालाई आधार बनाएर थप छलफल तथा कानुनी राय लिइने राष्ट्र बैंकले जनाएको छ।
आवश्यकताअनुसार सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा कानुनबमोजिम आवश्यक उपाय अवलम्बन गरिने राष्ट्र बैंकको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्