Skip to content

पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको सिमकार्ड नामसारी प्रक्रिया थप सहज बनाएको छ । अब ग्राहकले सिम नामसारीका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन् ।

कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न ग्राहकले अनलाइनमार्फत आवश्यक विवरण भरेपछि नामसारी दस्तुर बुझाउन र अन्तिम प्रमाणीकरणका लागि मात्र नजिकको नेपाल टेलिकमको दूरसञ्चार कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

नेपाल टेलिकमका अनुसार ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत नामसारीका लागि आवश्यक विवरण भर्न सक्ने नेपाल टेलिकमका प्रवक्ता डा‍ कमल लामिछानेले बताए ।

पोर्टलमा लगइन गरी सम्बन्धित मोबाइल नम्बर राखेपछि ग्राहकको मोबाइलमा ओटीपी प्राप्त हुनेछ । ओटीपी प्रमाणीकरणपछि हालको ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्नुपर्नेछ ।

त्यसैगरी, नामसारी प्रक्रियामा पछिल्लो एक महिनाको अवधिमा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सबै विवरण अनलाइनबाट भरिसकेपछि अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । नामसारीका लागि तोकिएको दस्तुर बुझाई सक्कल नागरिकतासहित ग्राहक स्वयं वा निजले तोकेको प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिनेछ ।

नेपाल टेलिकमले अनलाइनबाटै आवश्यक विवरण भर्न सकिने व्यवस्था गरेपछि कार्यालयमा लामो समय उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता कम हुने जनाएको छ । कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सक्ने भएकाले नामसारी प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ ।

हालका लागि यो अनलाइन नामसारी सेवा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ। कर्पोरेट ग्राहकले भने सिम नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रवक्ता डा लामिछानेका अनुसार नयाँ व्यवस्थाले पोस्टपेड सिम नामसारी प्रक्रियालाई सरल, सहज र ग्राहकमैत्री बनाउनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T