काठमाडौं । वाणिज्य बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाबापत ( इम्पेरिमेन्ट चार्ज) को लागि छुट्याएको रकम चालु आर्थिक वर्ष २०८२–८३ मा समग्रमा घटेको छ। उपलब्ध तथ्यांकअनुसार २० वटा बैंकको कर्जा नोक्सानी व्यवस्थामा कुल रकम ३ अर्ब ७३ करोड ७३ लाख ५० हजार रुपैयाँ रहेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा यस्तो रकम ५ अर्ब १६ करोड ५५ लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा बैंकहरूको इम्पेरिमेन्ट चार्ज औसतमा २७.६५ प्रतिशतले घटेको हो । इम्पेरिमेन्ट चार्ज घट्नु भनेको बैंकले सम्भावित नोक्सानीका लागि छुट्याएको रकम घट्नु हो ।
इम्पेरिमेन्ट चार्ज घट्नु सामान्यतया बैंकका लागि सकारात्मक संकेत मानिन्छ । कर्जा असुलीमा सुधार आउनु, वा कर्जाको गुणस्तरमा सुधार भएपछि बैंकले सम्भावित नोक्सानीका लागि छुट्याउनुपर्ने रकम घट्ने गर्छ । बैंकको इम्पेरिमेन्ट चार्ज घट्दा समग्रमा नाफा पनि बढेको छ ।
गत आर्थिक वर्ष २०८२–८३ मा २० वाणिज्य बैंकको नाफा औसत ३२.३२ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकहरुको नाफा गत आर्थिक वर्षमा बढेर ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ पुगेको छ। इम्पेरिमेन्ट चार्ज घट्दा बैंकको खुद नाफा बढ्न सहयोग पुगेको हो ।
बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार तीन बैंकको कर्जा नोक्सानी व्यवस्था माइनसमा देखिएको छ। कुमारी बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको इम्पेरिमेन्ट चार्ज माइनसमा छ । इम्पेरिमेन्ट चार्जको लागि सबैभन्दा धेरै रकम छुट्ट्याउने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । गत आवमा यस बैंकले इम्पेरिमेन्ट चार्जको लागि ६ अर्ब १९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ ।
यसैगरी, इम्पेरिमेन्ट चार्ज सबैभन्दा धेरै छुट्ट्याउने दोस्रो बैंक प्रभु बैंक रहेको छ । यस बैंकले इम्पेरिमेन्ट चार्जको लागि ४ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ छुट्ट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्