Skip to content

मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदाका लागि सेबोनले माग्यो राय–सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन ऋण कारोबार (मार्जिन लेण्डिङ्ग) सम्बन्धी नियमावलीको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग राय–सुझाव मागेको छ।

नेपालको पूँजी बजारमा संस्थागत विकास, विद्युतीय कारोबार प्रणाली तथा लगानीकर्ता आधार विस्तार भए पनि बजारलाई थप आधुनिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन आवश्यक रहेको बोर्डले जनाएको छ। सोही उद्देश्यअनुसार मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त शर्ट सेलिङ्ग प्रणाली कार्यान्वयनतर्फ बोर्ड अघि बढेको हो।

पहिलो चरणमा मार्जिन लेण्डिङ्ग प्रणाली लागू गर्ने उद्देश्यले बोर्डले मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तयार गरेको हो। यस व्यवस्थामार्फत योग्य लगानीकर्ताले आफ्नो स्वःपूँजीसँगै धितोपत्र दलाल व्यवसायीबाट ऋण लिएर धितोपत्रमा लगानी गर्न सक्ने व्यवस्था हुने बोर्डले जनाएको छ।

बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल गरी आवश्यक परिमार्जनसहित तयार गरिएको मस्यौदा सार्वजनिक परामर्शका लागि सार्वजनिक गरिएको हो।

बोर्डले सरोकारवालाबाट प्राप्त राय तथा सुझाव अध्ययन गरी नियमावलीलाई अन्तिम रूप दिने जनाएको छ। बोर्डले सम्बन्धित सबै पक्षलाई मस्यौदामाथि आफ्ना महत्वपूर्ण राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

नियमावलीको सार्वजनिक परामर्शसम्बन्धी संक्षिप्त विवरण, मुख्य विशेषता तथा सुझावका लागि तयार गरिएका प्रश्नहरू बोर्डले उपलब्ध गराएको सम्बन्धित सामग्री तथा लिङ्कमार्फत हेर्न सकिने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T