काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘चियरम्यान क्लब तथा सीईओ क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको उक्त कार्यक्रम ज्ञान, सम्मान, उत्साह र मनोरञ्जनले भरिपूर्ण बनेको कम्पनीले जनाएको छ।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरिन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले अभिकर्ता पेशालाई मर्यादित र सम्मानित पेशाका रूपमा स्थापित गर्न उत्कृष्ट भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई सम्मान गर्न पाउँदा कम्पनी गौरवान्वित भएको बताइन्। उनले सम्मानित अभिकर्ताहरूलाई आगामी दिनमा अझ उच्च मनोबलका साथ व्यवसाय विस्तार गर्न कम्पनीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले लगनशीलता, निरन्तरता र समर्पणबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको उल्लेख गर्दै अभिकर्ताहरूको उपलब्धिलाई उत्सवका रूपमा मनाउन पाउनु कम्पनीका लागि गर्वको विषय रहेको बताए। टिमवर्कमार्फत अझ ठूलो सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उनले आगामी वर्ष थप उत्कृष्ट नतिजा हासिल हुने अपेक्षा गरे।
कार्यक्रममा आचार्य राजा बाबु साहद्वारा प्रस्तुत ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयक प्रशिक्षण सत्रले सहभागी अभिकर्ताहरूलाई व्यवसायिक क्षमता अभिवृद्धि तथा आत्मविश्वास विकासमा महत्वपूर्ण ऊर्जा प्रदान गरेको थियो।
देशभरबाट कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कम्पनीको उच्च तहको ‘चियरम्यान क्लब’ तथा दोस्रो उच्च तहको ‘सीईओ क्लब’ अवार्ड प्रदान गरी विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली चलचित्रका चर्चित अभिनेता, मोडल तथा निर्माता प्रदीप खड्काको विशेष उपस्थिति रहेको थियो। उनले आफ्नो संघर्ष र सफलताको यात्राका अनुभव सहभागीहरूसँग प्रेरणादायी शैलीमा साझा गरेका थिए।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा तथा सम्मानका लागि यस्ता मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्