Skip to content

ऋण असुलीमा सुधारसँगै वित्तीय सूचकमा अब्बल बन्दै कुमारी बैंक

काठमाडौं । केही वर्षअघिसम्म कर्जा विस्तारमा पुँजीकोषको दबाब, निष्क्रिय कर्जाको व्यवस्थापन र मर्जरपछिका चुनौतीसँग जुधिरहेको कुमारी बैंक अहिले क्रमश: सहज अवस्थामा फर्किन थालेको छ ।

कर्जा असुलीमा सुधार, धितो बिक्रीमा आएको सहजता, घट्दो ब्याजदर र बढ्दो पुँजीकोषले बैंकको आगामी यात्राप्रति थप सहज बनाउँदै लगेको छ । यसलाई गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्थाले पुष्टि गर्छ ।

बैंकले गत आर्थिक वर्ष २०८२/८३ सम्म७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३०५.९६ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत असार मसान्तसम्म बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गर्न सफल भएको छ । गत आवमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेको छ ।

अघिल्लो वर्ष निक्षेप वृद्धि भएपनि पुँजी पर्याप्तताका कारण कर्जा विस्तार गर्न बैंकलाई सहज थिएन । बैंकको सीडी रेसियो करिब ७५ प्रतिशतको हाराहारीमा रहे पनि पुँजीकोषको दबाबका कारण कर्जा प्रवाहमा समस्या थियो ।

तर अहिले बैंकको पुँजी पर्याप्तता अनुपातमा उल्लेख्य सुधार आएको छ। बैंकका अनुसार पुँजीकोष ८.५ प्रतिशतबाट बढेर १३.५५ प्रतिशत पुगेको छ ।

पुँजीकोषमा आएको सुधारसँगै बैंकसँग अहिले करिब २४ अर्ब रुपैयाँसम्म थप कर्जा प्रवाह गर्न सक्ने क्षमता रहेको प्रमुख कार्यकारी अधिकृत ‌(सीईओ) रामचन्द्र खनालको भनाइ छ ।

बैंकले ऋणीबाट ऋण असुल गर्न धितो लिलामीलाई मात्र माध्यम बनाएको छैन । ऋणीलाई कर्जा तिर्न सहजीकरण गर्ने, धितो बिक्रीका लागि ग्राहक खोजिदिने, धितो लिलामी गर्ने तथा ऋणीलाई आफैं धितो बिक्री गरेर कर्जा चुक्ता गर्न प्रोत्साहित गर्ने नीति बैंकले अपनाउँदै आएको छ ।

बैंकले कालोसूचीमा परेका ऋणीलाई धितो बिक्री गरेर कर्जा चुक्ता गर्ने वातावरण बनाउन सहजीकरण गरिरहेको छ ।

लामो समयपछि कर्जाको ब्याजदर निकै तल आएको र बैंकहरूको आधारदर पनि न्यून भएको अवस्थामा घरजग्गामा लगानीप्रति आकर्षण बढ्न थालेको बैंकको बुझाइ छ ।

ब्याजदर न्यून भएको समयमा बैंकमा पैसा राख्रु भन्दा घरजग्गामा लगानी गर्नु उपयोगी ठान्नेहरुले केही समययता घर जग्गामा लगानी बढाउन थालेका छन् ।

घर जग्गामा लगानी बढ्न थालेसँगै बैंकको काठमाडौंमा बिक्त बाँकी घर जग्गा मुद्धा मामिला भन्दा बाहेकका छैनन् ।

बैंकको धितोमा रहेका जग्गामध्ये ठूलो हिस्सा अब तराईका क्षेत्रमा बाँकी छ । पछिल्लो समय तराईका जग्गासमेत बिक्री हुन थालेपछि बैंकलाई खराब कर्जा व्यवस्थापनमा थप सहजता भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल बनाउँछन् ।

”नयाँ कित्ताकाटमा समस्या रहेपनि बैंकको धितोमा रहेका जग्गामा त्यस्तो समस्या छैन” उनले भने, ”यही कारण पनि धितो बिक्रीको प्रक्रिया तुलनात्मक रूपमा सहज बन्दै गएको छ ।”

विगतमा राजनीतिक पहुँच वा शक्तिको प्रभाव देखाउँदै कर्जा भुक्तानीमा ढिलाइ गर्ने प्रवृत्ति रहेको भए पनि अहिले त्यस्तो अवस्था क्रमश: घट्दै गएको बैंकका अधिकारीहरूको अनुभव छ । पहिला जस्तो शक्तिशाली नेता, मन्त्रीलाई फोन गर्न लगाउने परम्परा घटेको छ । नयाँ सरकार बनेपछि बाँकी रहेको ऋण तिर्न आउने क्रम बढेको बैंकका अधिकारीहरु बताउँछन् । पहिला पावर शो गर्नेहरु अहिले समयमै कर्जा तिर्नेतर्फ केन्द्रित हुन थालेको बैंकका अधिकारिहरुको भनाइ छ ।

बैंकका अधिकारीहरूका अनुसार पछिल्लो समय नेता तथा मन्त्रीहरूबाट बैंकका अधिकारीलाई आउने फोनसमेत न्यून भएको छ । कर्जा नतिर्दा अन्तत: समस्या आफैंलाई पर्ने भएकाले समयमै कर्जा चुक्ता गर्नुपर्छ भन्ने चेत ऋणीमा विकास हुन थालेको बैंकको अनुभव छ ।

संस्था अविच्छिन्न रूपमा सञ्चालन हुने भएकाले आफूले नतिरेको कर्जा अन्तत: आफू वा आफ्नो अर्को पुस्ताले तिर्नुपर्ने अवस्था आउने बुझाइका कारण पनि केही ऋणी स्वयं बैंकको सम्पर्कमा आउन थालेका छ । यसले कर्जा असुलीमा बैंकलाई थप सफलता मिलिरहेको छ ।

बैंकले अब कर्जा वृद्धिलाई अस्वाभाविक रूपमा बढाउनेभन्दा पनि करिब ७–८ प्रतिशतको सामान्य दरमा बढाउने नीति छ । बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा पनि उल्लेख्य प्रगति गरेको जनाएको छ ।

अघिल्लो र गत आर्थिक वर्षमा कर्जा नोक्सानी व्यवस्थापनका लागि करिब २६, २६ अर्ब रुपैयाँको प्रोभिजन रहेको थियो । पछिल्लो समय कर्जा असुली र व्यवस्थापनमा सुधार भएपछि त्यसमा रहेको केही रकम फिर्ता आएको बैंकको भनाइ छ ।

बैंकले उल्लेख गरेअनुसार १ अर्ब ४३ करोड रुपैयाँमध्ये अघिल्लो आर्थिक वर्षसँग सम्बन्धित करिब ३७ करोड रुपैयाँ राइट ब्याक भएको छ । कर्जा नोक्सानीका लागि गरिएको प्रोभिजन फिर्ता आउनुले बैंकको नाफामा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल

बैंक अहिले नाफाका आधारमा बैंकिङ क्षेत्रमा दोस्रो स्थानमा छ । बैंकका अधिकारीहरूको प्राथमिकता विगतका समस्या समाधान गर्दै बैंकलाई थप स्वस्थ बनाउने र त्यसको प्रत्यक्ष लाभ सेयरधनीलाई दिने रहेको सीईओ खनालको भनाइ छ ।

”४१ लाख रुपैयाँ नाफा र वितरणयोग्य नाफा ऋणात्मक रहेको अवस्थाबाट अहिले ‘थोरै भए पनि लाभांश दिन सक्ने’ अवस्थामा पुग्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो” सीईओ खनालले, ”यसलाई बैंकले केवल नाफाको अंकका रूपमा भन्दा पनि विगतका चुनौती पार गर्दै अघि बढेको संकेतका रूपमा लिएको छ ।”

चुक्ता पुँजी, कर्जा तथा निक्षेपको आकारलगायत सूचकका आधारमा कुमारी बैंक पाँचौँ वा छैटौँ स्थानतिर भए पनि नाफामा दोस्रो स्थानमा पुग्नु व्यवस्थापनका लागि सकारात्मक संकेत हो ।

.मर्जरपछि उत्पन्न भएका विभिन्न व्यवस्थापकीय तथा सञ्चालनगत चुनौती पनि क्रमश: कम हुँदै गएको बैंकको भनाइ छ। मर्जरपछिको एकीकरण प्रक्रिया, पुँजीकोषको दबाब, खराब कर्जाको व्यवस्थापन र व्यवसाय विस्तारका चुनौतीलाई क्रमश: समाधान गर्दै अहिले बैंकको सम्पूर्ण टिम आत्मविश्वासका साथ काम गर्न सक्ने अवस्थामा पुगेको बताइएको छ । सीईओ खनालका अनुसार कर्मचारीको मेहनत र सञ्चालक समितिको निरन्तर सहयोगका कारण अहिले बैक यो अवस्थामा आएको छ ।

अब बैंकको ध्यान विगतका समस्या दोहोरिन नदिने, सन्तुलित रूपमा कर्जा विस्तार गर्ने, कर्जा असुलीलाई थप प्रभावकारी बनाउने र सेयरधनीलाई दिगो प्रतिफल दिने दिशामा केन्द्रित छ ।

कुमारी बैंकका लागि पछिल्लो समयको सुधार खराब कर्जा घटाउने वा नाफा बढाउने विषयमा सीमित छैन । बैंकले व्यवसाय विस्तार र जोखिम व्यवस्थापनबीच सन्तुलन कायम गर्ने रणनीति लिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T