काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी तथा बीमा अभिकर्ताको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न इजाजतपत्र प्राप्त सम्पूर्ण बीमा अभिकर्ता तथा मध्यस्थकर्तालाई निर्देशन दिएको छ ।
प्राधिकरणले विभिन्न संस्थाको व्यवसायमा असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ । सोही विषयमा ध्यानाकर्षण जनाउँदै प्राधिकरणले यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो ।
बीमा अभिकर्ता सम्बन्धी निर्देशन, २०८३ को दफा १९ अन्तर्गतको आचारसंहिताको अनुसूची–१ को बुँदा २(ज) मा आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताबारे गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।
उक्त व्यवस्थाविपरीतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्रचलित आचारसंहिताविपरीत हुने कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित र अनधिकृत प्रचारप्रसार नगर्न तथा नगराउन निर्देशन दिएको छ ।
प्राधिकरणले भविष्यमा यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले २०८३ भदौ ८ गते जारी गरेको पत्रमार्फत यस्तो निर्देशन दिइएको हो । पत्रको बोधार्थ इजाजतपत्र प्राप्त सबै बीमकलाई समेत पठाइएको छ ।






प्रतिक्रिया दिनुहोस्