काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । अहिलेसम्म करिब ८० प्रतिशत भन्दा बढी तयारी सकिएको छ ।
भोली मंगलबार भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी करिब ८० प्रतिशत सकिएको छ ।
अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट,टायर,ल्युब्रिकेन्ट्स,ब्याट्री,चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम अब अन्तिम चरणमा पुगेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन् करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् ।
प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण लगायतका सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहनेछ ।
प्रदर्शनी सुरु हुन १ दिन बाँकी रहँदा भृकुटीमण्डपमा अहिले स्टल निर्माणको चटारो निकै छ । विभिन्न ब्रान्डका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने कामसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम भइरहेको छ ।
नाडा अटो शोको यस संस्करणलाई नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गरिने जनाइएको छ । यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
नाडा अटो शोमा नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै उपभोक्ता,व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसरसमेत उपलब्ध हुनेछ।
नाडाका अनुसार अटो शोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो अवस्था, बजारमा आएका नयाँ प्रविधि र भविष्यको गतिशीलताको दिशालाई एउटै थलोबाट बुझ्ने अवसर प्रदान गर्नेछ।
यस वर्षको प्रदर्शनीमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ समेत रहनेछ। उक्त पभेलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवद्र्धन गर्ने तयारी गरिएको छ।








































प्रतिक्रिया दिनुहोस्