Skip to content

भोटेकोशीको बाढीले तीन सयभन्दा बढी कन्टेनरको सामान बगाएको अनुमान

काठमाडौं । चीनबाट रसुवा नाका हुँदै आयात गरिएका तीन सयभन्दा बढी कन्टेनरको सामान भोटेकोशी नदीमा आएको बाढीले बगाएको अनुमान गरिएको छ।

रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार भन्सार यार्डमा राखिएका चीनबाट आयात गरिएका सामान बाढीले बगाएको हो। बाढीका कारण भन्सार यार्डमा रहेका सामानमा ठूलो क्षति पुगेको उनले बताए।

तीज, दसैं र तिहारजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरेर चीनबाट आयात गरिएका रेडिमेड कपडा, जुत्ताचप्पल, ब्यागलगायतका सामान भन्सार यार्डमा रहेका थिए। तीमध्ये तीन सयभन्दा बढी कन्टेनरमा रहेका सामान बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको छ।

व्यवसायीहरूका अनुसार चाडपर्वलाई लक्षित गरी आयात गरिएका सामानमध्ये ५० प्रतिशतभन्दा बढी सामान भन्सार क्षेत्रमा आइपुगेका थिए। बाढीका कारण ती सामानमा ठूलो क्षति पुगेपछि व्यवसायीहरूलाई समेत ठूलो आर्थिक नोक्सानी हुने देखिएको छ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ। बाढीबाट रसुवा भन्सार कार्यालयसहित आसपासका दर्जनौँ बस्ती तथा संरचना प्रभावित भएका छन्। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T