काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटे पनि नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) भने उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२–८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा कम हो। आर्थिक वर्ष २०८१–८२ मा यस्तो संख्या ५ लाख ५ हजार ९५७ रहेको थियो।
यता, विदेशमा काम गरिरहेका नेपालीले नेपाल पठाउने रकम भने तीव्र गतिमा बढेको छ। समीक्षा वर्षमा अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह २८.१ प्रतिशतले बढेर १६ अर्ब १९ करोड डलर पुगेको छ। अघिल्लो वर्ष डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेको थियो।
महिनागत रूपमा हेर्दा पनि असारमा विप्रेषण आप्रवाह उल्लेख्य देखिएको छ। २०८३ असारमा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो।
यसैगरी, समीक्षा वर्षमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।
पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ। समीक्षा वर्षमा ३ लाख ८५ हजार ७८३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ३३ हजार ३०९ रहेको थियो।






प्रतिक्रिया दिनुहोस्