Skip to content

भोटेकोशीमा बाढी: तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति निर्यात व्यवसायी महासंघ नेपालले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।

महासंघले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा कटान तथा डुबानको जोखिम बढ्दै गएको भन्दै जनधन, घर–सम्पत्ति तथा सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बाढीका कारण उद्योगी तथा व्यवसायीका पसल, गोदाम, उद्योग, कार्यालय, व्यापारिक संरचना तथा मौज्दातमा समेत क्षति पुगेको र व्यावसायिक गतिविधि प्रभावित भएको महासंघले जनाएको छ।

महासंघले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीपहिरोबाट प्रभावित उद्योगी, व्यवसायी तथा प्रतिष्ठानप्रति सहानुभूति र ऐक्यबद्धता जनाएको छ।

भोटेकोशी तथा त्रिशूली नदी आसपासका जोखिमयुक्त क्षेत्रमा तत्काल उद्धार तथा राहतका कार्यलाई तीव्रता दिन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक खाद्यान्न, औषधि, खानेपानी र अस्थायी आवासको व्यवस्था गर्न महासंघले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायसँग आग्रह गरेको छ।

विपद्को यस कठिन घडीमा नागरिक समाज, उद्योगी–व्यवसायी तथा सदस्य संस्थाहरूलाई आ–आफ्नो सामर्थ्यअनुसार उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न महासंघले अपिलसमेत गरेको छ।

महासंघका अनुसार विपद्बाट प्रभावित नागरिक, व्यवसायी तथा समुदायको साथमा रहँदै आवश्यक मानवीय सहयोगका लागि आफूहरू प्रतिबद्ध छन्।

महासंघका तर्फबाट अध्यक्ष गोविन्द प्रसाद घिमिरेले उक्त अपिल जारी गरेका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T