काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत खोज, उद्धार तथा स्वास्थ्य उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो।
मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतका काम भइरहेको जनाएको छ।
विपद्को अवस्थामा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई आवश्यकताअनुसार विपद् व्यवस्थापनमा परिचालन हुन तयार रहन भनेको छ।
मन्त्रालयले विशेष कारण र अत्यावश्यक कामबाहेक कर्मचारीको बिदा तथा काज स्वीकृत नगर्न तथा नगराउनसमेत निर्देशन दिएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र उद्धार तथा उपचार कार्यलाई प्राथमिकतामा राख्न मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस्