काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग संकलन भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत विभिन्न संस्था, बैंक, बीमा कम्पनी, उद्योगी तथा व्यवसायीहरूले उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन्।
सबैभन्दा ठूलो सहयोग सूर्य नेपाल प्रालिले गरेको छ। कम्पनीले राहत कोषमा १५ करोड रुपैयाँ प्रदान गरेको छ। त्यसपछि प्राइम बैंकले ३ करोड १० लाख रुपैयाँ र कृषि विकास बैंकले ३ करोड रुपैयाँ सहयोग गरेका छन्।
बीमा क्षेत्रबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। यस्तै, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्सले जनही १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
निजी क्षेत्रबाट हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ तथा एग्रो थाईफुड्स प्रालिले १ करोड रुपैयाँ सहयोग गरेका छन्। उद्योगी विजयकुमार शाह, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङ, डब्लूडब्लूएफ नेपाल, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ प्रालि र सोलु हाइड्रोपावरले जनही १ करोड रुपैयाँ राहत कोषमा योगदान गरेका छन्।
व्यक्तिगत रूपमा राजी राणाले १ करोड ९ लाख ८० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। मोरङ अटो वर्क्सले १ करोड ११ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ।
यसैगरी, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ तथा लुम्बिनी विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
अन्य सहयोगदातामध्ये सीएएस ट्रेडिङ हाउसले १ लाख ११ हजार रुपैयाँ, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख रुपैयाँ, सिल्भर लाइनिङ प्रालिले १ लाख ११ हजार रुपैयाँ तथा एबाकस इन्साइट्स प्रालिले १५ लाख रुपैयाँ योगदान गरेका छन्। अन्य तीन संस्थाबाट समेत २६ लाख ६२ हजार रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको छ। प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन निजी क्षेत्र, वित्तीय संस्था तथा उद्योगी–व्यवसायीहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।






प्रतिक्रिया दिनुहोस्