Skip to content

कृष्णभीरको भासिएको सडक तत्काल नबन्ने, वैकल्पिक मार्ग खोज्न थालियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक तत्काल पुनःनिर्माण गर्न नसकिने निष्कर्षपछि वैकल्पिक मार्गको खोजी थालिएको छ।

त्रिशूली नदीले सडकको फेदमा निरन्तर कटान गरेपछि कृष्णभीर क्षेत्रमा सडक भासिने क्रम जारी छ। हालसम्म करिब १०० मिटर सडक चिरिएको तथा भासिएको छ भने जोखिम बढेपछि पैदल आवतजावतसमेत रोकिएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले नदीको कटान अझै जारी रहेकाले तत्काल सडक निर्माण सम्भव नभएको बताए। उनका अनुसार प्राविधिक तथा विषय विज्ञको टोलीले क्षतिको अध्ययन गरिरहेको छ।

सडक तत्काल सञ्चालनमा आउने सम्भावना कमजोर देखिएपछि वैकल्पिक मार्गको अध्ययन सुरु गरिएको छ। बेनीघाट–आरुघाट–गोरखा तथा गल्छी–सुनौलो बजार–धादिङबेशी–सल्यानटार–गोरखा हुँदै जाने सडकलाई विकल्पका रूपमा हेरिएको छ। पृथ्वी राजमार्गको पारिपट्टिका सडक प्रयोग गरेर गन्तव्यसम्म पुग्न सकिने सम्भावनाबारे समेत अध्ययन भइरहेको छ।

पूर्वी क्षेत्रबाट आउने सवारीसाधनलाई मकवानपुरतर्फका मार्ग प्रयोग गर्न सकिने तथा पश्चिम र पोखरातर्फ जाने सवारीलाई गोरखा हुँदै सञ्चालन गर्ने विकल्पमा काम भइरहेको सडक आयोजनाले जनाएको छ।

राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक करिब १४ हजार सवारीसाधन सञ्चालन हुने गरेका छन्। इन्धन, खाना पकाउने ग्यास, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि समेत यही मार्ग प्रयोग हुने भएकाले समस्या लम्बिए आपूर्ति प्रणालीमा असर पर्ने चिन्ता बढेको छ।

त्रिशूली नदीको कटान नरोकिएसम्म कृष्णभीरको जोखिम कायमै रहने प्राविधिकहरूको निष्कर्ष छ। विस्तृत अध्ययनपछि मात्रै सडक पुनःनिर्माण वा दीर्घकालीन समाधानबारे अन्तिम निर्णय हुने जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T