काठमाडौं । गत बुधबार रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण सहकारी क्षेत्रमा पनि निकै ठूलो असर परेको छ ।
बाढीका कारण रसुवाका साथै नुवाकोट, चितवन, धादिङ जिल्लाका रहेका बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय संघ, जिल्ला संघ लगायतलाई निकै क्षति भएको छ ।
यी जिल्लाहरुमा रहेका सहकारीलाई परेको क्षतिका विषयमा राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) लगायतले तथ्याङ्क संकलनको काम सुरु गरिरहेका छन् ।
महासंघका कार्यबाहक अध्यक्ष रमेश पोखरेलका अनुसार अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सहकारीका सेवाकेन्द्रसहित ४० वटा संस्थामा बाढीले क्षति पुर्याएको छ । यो संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।
“हामीले सबै जिल्ला संघहरुलाई परिपत्र गरेर कहाँका कुन–कुन संस्थामा कस्तो क्षति (मानविय, भौतिक) भएको त्यसको तथ्याङ माग गरिसकेका छौ । अहिलेसम्म रसुवामा ९ वटा संस्था, नुवाकोटमा ११ वटा संस्था र सेवाकेन्द्रसहित ४० वटामा क्षति पुगेको भन्ने प्रारम्भिक सूचना आएको छ” उनले भने, “अहिले त्यहाँको अवस्था निकै भयावह छ । अहिलेसम्म मानविय सेवामा लाग्नु पर्ने भएर तथ्याङ्क आउन समय लाग्छ ।”
पोखरेलका अनुसार गत बुधबार यता केही दिन सञ्चार सेवा अवरुद्ध भएका कारण तथ्याङक संकलन, त्यहाँका संस्था, संस्थामा कार्यरत कर्मचारी, सहकारी अभियानकर्मीका बारेमा जानकारी लिन असहज भएको थियो ।
सञ्चार सम्पर्क विस्तार भएपछि लिएको तथ्याङ्क अनुसार अहिलेसम्म बाढीका कारण सहकारी अभियानका अभियन्ता ५० जना सम्पर्क बिहीन रहेको प्रारम्भिक सूचना आएको पोखरेलले लगानी न्यूजलाई बताए ।
यता ५ जना सहकारी अभियन्ताहरु र सहकारीका ३ जना कर्मचारीको निधन भएको जानकारी आएको महासंघले जनाएको छ ।
महासंघका महाप्रबन्धक बाबुकाजी थापाले बाढी लगत्तै प्रभावित जिल्लाका जिल्ला संघलाई आइतबार विभिन्न ५ वटा सूचना माग्दै परिपत्र जारी गरेको बताए । उनका अनुसार महासंघले बाढीमा परेर निधन भएका, अंगभंग भएका, बेपत्ता भएकाहरुको विवरण मागिएको छ । साथै बाढीले भवनमा पुगेको क्षति र कुन व्यवसायमा कति लगानी गरेको छ त्यसको विवरण पठाउन परिपत्र जारी गरेको थापाले बताए ।
उनका अनुसार अहिले केही तथ्याङक आउन थालेको छ । “प्रारम्भिक तथ्याङ्क हेर्दा करिब ४ करोड कर्जा उठन नसक्ने गरि क्षति भएको देखिएको छ” महाप्रबन्धक थापाले भने, “यो प्रारम्भिक तथ्याङ्क हो । यो रकम अझै बढ्ने छ ।”
गत बुधबारको बाढीपछि सहकारीको अवस्थाबारे नेफ्स्कुनले पनि सूचना संकलन गरिरहेको छ । नेफ्स्कुनले आफ्ना सदस्यका साथै कृषि, बहुउद्देश्यीय लगायत सहकारीको तथ्याङ्क संकलन गरिरहेको छ । नेफ्स्कुनका एक अधिकारीका अनुसार अहिलेसम्म ३१ वटा सहकारीको विवरण तयार भएको छ । ३१ मध्ये २० वटा सहकारीमा पूर्ण रुपमा क्षति भएको छ । बाँकीको आंशिक क्षति भएको छ ।
यो विवरण रसुवा, नुवाकोट र धादिङको हो । गोरखा र चितवनको सूचना संकलन हुने क्रममा छ । बाढीले क्षति पुगेको भनिएको मध्ये एउटा सहकारीका कोही पनि व्यक्तिसँग अहिलेसम्म सम्पर्क हुन नसकेको बताइएको छ ।
एउटा सहकारीले करिब १ करोड लगानी गरेको र लगानी गर्दा लिएको धितो बाढीले बगाएका कारण त्यो ऋण नउठने सम्भावना रहेको सूचना प्राप्त भएको नेफ्स्कुनले जनाएको छ ।
बाढीले नुवाकोट लगायत जिल्लाका तल्ला फाँटहरु बगाउँदा सहकारी संस्थाहरुलाई कर्जा उठाउन चिन्ताको विषय समेत बनेको छ ।
नेफ्स्कुनका सीईओ शिवजी सापकोटाले बाढी प्रभावित जिल्लाको तथ्याङक छुट्टै विभाग नै गठन गरेर संकलन गरिरहेको बताए ।
यता सहकारी बैंकले पनि तथ्याङ्क संकलन गरिरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्