Skip to content

तीन महिनाका लागि १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ९० दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकले भदौ १८ गते जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सकिनेछ।

बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ। निक्षेप संकलन उपकरण आजै निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ।

उक्त उपकरणको साँवा तथा ब्याज आगामी २०८३ मंसिर १६ गते भुक्तानी गरिनेछ। निक्षेप संकलनको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। अधिकतम भने आह्वान गरिएको कुल रकम अर्थात् १८ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिनेछ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता खिचेर बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T