काठमाडौं । बेलायतमा रहेर सामुदायिक तथा मानवीय सेवामा सक्रिय सुजन कटुवालले नेपालका बाढीपीडितका लागि संकलित सहयोग रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेका छन् ।
लन्डनको ब्ल्याकहिथस्थित पानस गोर्खा रेस्टुरेन्ट तथा पानस हेल्पिङ ह्यान्ड्सको पहलमा ग्राहक, दाता तथा स्थानीय समुदायबाट संकलित रकम बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि हस्तान्तरण गरिएको हो ।
नेपालमा आएको विनाशकारी बाढीपछि कटुवाल र उनको टोलीले प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरेका थिए। अभियानमार्फत संकलित रकम नेपालमा बाढीपीडितको तत्कालीन राहत तथा पुनःस्थापनामा प्रयोग गर्ने उद्देश्यले अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरिएको कटुवालले बताए ।
कटुवालले सहयोग रकम हस्तान्तरणसँगै बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने तयारीसमेत गरेका छन् । उनले प्रभावित समुदायसँग प्रत्यक्ष भेटेर उनीहरूको अवस्था, आवश्यकता र दीर्घकालीन पुनःस्थापनाका चुनौती बुझ्ने बताएका छन् ।
“सहानुभूति मात्र पर्याप्त हुँदैन, त्यसलाई कार्यमा बदल्नुपर्छ। प्रभावित समुदायमाझ स्वयं उपस्थित भएर उनीहरूको कुरा सुन्न र पुनःस्थापना तथा पुनर्निर्माणमा हामीले कसरी प्रभावकारी सहयोग गर्न सक्छौँ भन्ने बुझ्न चाहन्छु,” कटुवालले भने।
कटुवाल लामो समयदेखि बेलायतमा सामुदायिक तथा मानवीय सेवामा सक्रिय छन् । कोभिड–१९ महामारीका क्रममा उनले पानस टोलीमार्फत बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, गोर्खा भूतपूर्व सैनिक, घरबारविहीन तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई २ लाख ५० हजारभन्दा बढी निःशुल्क खाना उपलब्ध गराएका थिए ।
महामारीपछि पनि पानसको सामुदायिक सेवा निरन्तर रहँदै आएको छ । टोलीले प्रत्येक मंगलबार लन्डनका घरबारविहीन व्यक्तिहरूलाई तातो गोर्खाली खाना उपलब्ध गराउँदै आएको छ । सामुदायिक सेवामा पुर्याएको योगदानको कदरस्वरूप कटुवाललाई एमबीई सम्मानसमेत प्रदान गरिएको छ ।
नेपालका बाढीपीडितका लागि सञ्चालन गरिएको अभियानमा सहयोग गर्ने ग्राहक, दाता, साथीहरू तथा ब्ल्याकहिथ समुदायप्रति कटुवालले आभार व्यक्त गरेका छन् । उनले अभियानमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपालका प्रभावित समुदायको पुनःस्थापनामा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्