Skip to content

प्रसूति बिदा आमालाई कम्तीमा छ महिना: बुबालाई ४२ दिनसम्म, दुवैले तलब पाउने

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । सामाजिक सञ्जालमार्फत आज उनले उक्त विधेयक अब मन्त्रिपरिषद् लैजाने र त्यसपछि संसद्मा पेस गरिने उल्लेख गरे ।

मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताए ।

प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा पाउने र बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउने व्यवस्था गरिनेछ ।

मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै अभिभावकत्व साझा जिम्मेवारी भएको बताए ।

हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको व्यवस्था गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T