Skip to content

प्रभु बैंकद्वारा बाढी प्रभावित परिवारलाई ६ थान बंक बेड सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई सहयोग गरेको छ। बैंकले काठमाडौंस्थित पहेंलो गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारका लागि ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको हो।

प्राकृतिक प्रकोप तथा बाढीका कारण गुम्बामा आश्रय लिइरहेका परिवारको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले थप सहयोगस्वरूप बंक बेड उपलब्ध गराएको जनाएको छ। प्रभावित परिवारका लागि दुई तल्ले खाट आवश्यक रहेको पहिचान भएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

बंक बेडको सहयोगबाट राहत तथा आश्रयस्थलमा बसोबास गरिरहेका प्रभावित परिवारलाई थप सहजता पुग्ने बैंकको विश्वास छ।

यसअघि पनि प्रभु बैंकले विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। साथै बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँसमेत उक्त कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्यागसमेत हस्तान्तरण गरेको थियो।

प्रभु बैंकले विपद्का कारण घाइते भएकालाई सहयोग पुग्ने उद्देश्यले देशका सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति समवेदना व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima