Skip to content

अटोमोबाइल्स व्यवसायमाका पौडेल महासंघको यातायात तथा पारवहन समितिको उपसभापतिमा

काठमाडौं । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो ।

महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

पौडेल हाल नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का सचिव तथा एपीसीए अटोमोबाइल्सका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन् । उनी लामो समयदेखि नेपालमा अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन् ।

नेपालमा अटोमोबाइल क्षेत्रको बजार विस्तारको सुरुवाती चरणदेखि नै जोडिएका पौडेलले एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेका छन् ।

अटोमोबाइल व्यवसायसँगै पौडेल नीति तथा व्यावसायिक मुद्दामा समेत सक्रिय रहँदै आएका छन् । नाडामार्फत उनले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, विद्युतीय सवारीसाधन, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र पार्टपुर्जाको प्रयोगलगायतका विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन् ।

नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन तथा एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पार्टपुर्जाको प्रयोग र व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको विषयमा पनि पौडेलले जोड दिँदै आएका छन् ।

अटोमोबाइल क्षेत्रको व्यावसायिक अनुभवसँगै नाडामा नेतृत्वदायी भूमिकामा रहेका पौडेलको नयाँ जिम्मेवारीसँगै उनको भूमिका कम्पनी तथा ब्रान्डको व्यावसायिक गतिविधिमा मात्र सीमित नरही समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यावसायिक विषयमा समेत केन्द्रित हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ । समितिको उपसभापतिको जिम्मेवारीमा पौडेलको अनुभवले आगामी छलफल, नीति निर्माण तथा पहलमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima