Skip to content

नेपाल–भारत आर्थिक सहकार्य तथा संस्थागत समन्वय सुदृढीकरणबारे निक्की र एफएनसिसिआइ बीच छलफल

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचको संस्थागत समन्वय थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

एनआईसीसीआईका अध्यक्ष सुनिल केसीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा रहेको महासंघको टोलीसँग भेटवार्ता गर्दै द्विपक्षीय व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई), आर्थिक कूटनीति, औद्योगिक–शैक्षिक सहकार्य र भारतमा संयुक्त लगानी प्रवद्र्धनलगायतका विषयमा छलफल गरेको हो ।

भेटका क्रममा एनआईसीसीआईका अध्यक्ष केसीले एफएनसीसीआईको अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई बधाई दिँदै दुई संस्थाबीच उत्पादक तथा परिणाममुखी संयुक्त पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले एफएनसीसीआईसँग एनआईसीसीआईको लामो समयदेखिको संस्थागत सम्बन्धलाई थप सक्रिय बनाउन नियमित र संरचित संवाद आवश्यक रहेको बताए ।

प्रतिनिधिमण्डललाई स्वागत गर्दै एफएनसीसीआईका अध्यक्ष श्रेष्ठले एनआईसीसीआईको निरन्तर संलग्नताको प्रशंसा गर्दै नेपालको व्यापार तथा समग्र आर्थिक सम्बन्धमा भारतको महत्वपूर्ण भूमिका रहेको बताए । नेपाल–भारत आर्थिक सम्बन्धका विषयमा थप समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा एनआईसीसीआईको भूमिका एफएनसीसीआईको व्यावसायिक तथा आर्थिक हित प्रवद्र्धन गर्ने उद्देश्यसँग नजिक रहेको बताए ।

छलफलमा नेपाल–भारत व्यापारको वर्तमान अवस्था तथा नेपालको आन्तरिक उत्पादन र औद्योगिकीकरणलाई सुदृढ गर्ने अवसरबारे पनि विचारविमर्श भएको थियो । अध्यक्ष श्रेष्ठले विशेषगरी उत्तर प्रदेश र बिहारलगायत नेपालसँग सीमा जोडिएका भारतीय राज्यका व्यवसाय तथा कम्पनीसँग नेपाली उद्योग–व्यवसायको साझेदारी विस्तार गर्न सकिने सम्भावनातर्फ ध्यानाकर्षण गराए। उत्पादनमूलक तथा खाद्य क्षेत्रमा हुने यस्तो सहकार्यले नेपाली उद्योगको विकासमा योगदान पुर्‍याउन सक्ने उनले बताए ।

बैठकमा द्विपक्षीय ऊर्जा सहकार्यलाई प्रमुख प्राथमिकताका रूपमा लिइएको थियो । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको थप सहभागिता र लगानी तथा आवश्यक प्रसारण पूर्वाधारको समयमै विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिए। ऊर्जा क्षेत्रको सहकार्यका विषयमा नियमित संवादलाई निरन्तरता दिने सहमति पनि भएको छ ।

त्यस्तै, वाराणसीलगायत भारतीय पर्यटकीय गन्तव्यसँग पर्यटनसम्बन्धी सम्बन्ध तथा सहकार्य विस्तार गर्ने सम्भावनाका साथै सूचना प्रविधि (आईसीटी) र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उदीयमान क्षेत्रमा सहकार्यका अवसरबारे छलफल भएको थियो ।

एनआईसीसीआईले नेपाल र भारतका उच्चस्तरीय द्विपक्षीय भ्रमण तथा भेटघाटका क्रममा दुवै देशका निजी क्षेत्रका नेतृत्वबीच प्रत्यक्ष संवाद बढाउन वार्षिक ‘नेपाल–भारत सीईओ राउन्डटेबल’ आयोजना गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अघि बढाउन दुवै संस्थाले सहकार्य गर्ने सहमति जनाएका छन् ।

यसैगरी, नयाँदिल्लीमा नेपालको लगानी सम्मेलन नियमित रूपमा आयोजना गर्ने सम्भावना तथा लगानीका अवसर प्रवद्र्धन र व्यवसायी–व्यवसायी सम्पर्क विस्तारका लागि ‘भाइब्रेन्ट गुजरात’मा एफएनसीसीआई र एनआईसीसीआईको संयुक्त पहलमा नेपालको छुट्टै प्याभिलियन बनाएर सहभागिता जनाउने प्रस्तावबारे पनि छलफल भएको थियो ।

एनआईसीसीआईले नेपाल–भारत आर्थिक विषयमा दीर्घकालीन संस्थागत समन्वय थप सुदृढ गर्न एफएनसीसीआईमा एनआईसीसीआईका अध्यक्षका लागि पदेन स्थायी उपाध्यक्ष पदको व्यवस्था गर्नुपर्ने प्रस्ताव पुनः अघि सारेको छ। उक्त प्रस्तावमा एफएनसीसीआईका अध्यक्ष श्रेष्ठले महासंघको वर्तमान विधान तथा संस्थागत प्रक्रियाअनुसार विचार गरिने जानकारी दिए ।

भेटवार्तामा नेपाल–भारत संयुक्त व्यवसाय मञ्च (नेपाल–इण्डिया जोइन्ट बिजनेस फोरम–जेबीएफ) मा एनआईसीसीआईको सहभागिताबारे पनि छलफल भएको थियो। एनआईसीसीआईले उक्त मञ्चमा थप महत्वपूर्ण भूमिका तथा अध्यक्ष वा सह–अध्यक्षको जिम्मेवारीसमेत विचार गर्न आग्रह गरेको थियो। एफएनसीसीआईले जेबीएफमा एनआईसीसीआईको सहभागिता थप विस्तार गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, एफएनसीसीआईमा गठनको तयारीमा रहेको एमएनसी तथा एफडीआई फोरममा एनआईसीसीआईको सहभागिता तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघसँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो। संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउँदै बाँकी विषयहरूको समाधान गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

दुवै संस्थाले व्यापार, लगानी, ऊर्जा, व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, लगानी प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, उद्योग–शैक्षिक सहकार्य, खाद्य सुरक्षा, औद्योगिकीकरण तथा ऊर्जा सुरक्षालगायतका क्षेत्रमा संयुक्त पहल अघि बढाउने र निरन्तर संवाद कायम राख्ने सहमति जनाएका छन् ।

भेटवार्तामा एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक गोपालप्रसाद तिवारी तथा एनआईसीसीआईका अध्यक्ष सुनिल केसी, उपाध्यक्ष कुणाल केयाल, निर्देशक मार्शल राठौर, कार्यक्रम एसोसिएट श्रेयशी राणा र एआईडीआईएका रिसर्च डाइरेक्टर कुबेर चालिसेलगायतको सहभागिता रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima