काठमाडौं । नेपाल राष्ट्र बैंकले १ महिना अवधिको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि १ महिने निक्षेप संकलन उपकरण मार्फत उक्त रकम संकलन गर्ने भएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोल पेश गर्नुपर्नेछ ।
निक्षेप संकलनका लागि ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । यसरी संकलन गरिएको साँवा तथा ब्याज आगामी असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलपत्रमा बैंक तथा वित्तीय संस्थाले आफूले निक्षेपका रूपमा राख्न चाहेको रकम र माग गरेको ब्याजदर उल्लेख गर्नुपर्नेछ । निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि क्रमशः बढी ब्याजदर भएका बोलपत्रलाई आह्वान गरिएको रकम पूरा नहुँदासम्म बाँडफाँट गरिनेछ ।
समान ब्याजदरमा कुल निष्काशित रकमभन्दा बढी रकमको माग भएमा भने प्रो–रेटाका आधारमा बोलपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइनेछ । संकलित निक्षेपका लागि छुट्टै खाता खोली रकम जम्मा गरिनेछ । भुक्तानी मितिमा निर्धारित ब्याजसहित निक्षेपको साँवा रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । यद्यपि, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने अनिवार्य तरलता अनुपात तथा वैधानिक तरलता अनुपात (एसएलआर) मा भने गणना गर्न सकिनेछ ।
यसैगरी, निक्षेप संकलन उपकरणको अवधि पूरा हुनुअघि सम्बन्धित बोलवालालाई रकम फिर्ता भुक्तानी गर्न वा प्रिम्याच्योर भुक्तानी गर्न नपाइने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा उपलब्ध अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले समय–समयमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्