काठमाडौं । युवा नेता तथा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
आजदेखि काठमाडौंमा हुने कांग्रेसको १५औँ महाधिवेशनमा उनले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताए ।
अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षका रूपमा कार्यरत तिवारी युवा पुस्तामाझ परिचित कांग्रेस नेता हुन् ।
तिवारी अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४० प्रभावशाली युवा’को सूचीमा समेत परेका थिए । उक्त सूचीमा उनलाई उत्कृष्ट ‘पालिका प्रमुख’का रूपमा प्रस्तुत गरिएको थियो ।
स्थानीय तहमा निर्वाचित हुनुअघि तिवारी उद्यमशिलता, व्यवसाय तथा सेयर बजारमा आबन्द थिए । उनले सेयर बजारमा गरेको लगानीको ज्ञान स्थानीय तहमा पनि बाँडेका छन् । उनले आफ्नो पालिकाका १५ सय मानिसलाई सेयर बजारमा आबद्द गरेका छन् ।
तिवारीका अनुसार अर्जुनचौपारी गाउँपालिकाका १५ सय मानिसलाई डिम्याट खाता खोलेर सेयर बजारमा लगानी गर्न सिकाइएको छ । स्थानीयस्तरमा वित्तीय तथा लगानीसम्बन्धी चेतना विस्तार गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनको भनाइ छ।
भारतबाट एमबीए गरेका तिवारी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उनी त्यतिबेला कांग्रेसबाट निर्वाचित हुने कान्छा गाउँपालिका अध्यक्षमध्ये एक थिए ।
पालिकाको नेतृत्व सम्हालेपछि तिवारीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा उद्यमशीलताका क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाएका छन्। पछिल्लो समय अर्जुनचौपारीमा सडक पूर्वाधार विस्तारसँगै पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई प्राथमिकता दिइएको छ।
व्यवसाय, लगानी र स्थानीय सरकार सञ्चालनको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै आएका तिवारीले अब पार्टीको केन्द्रीय संरचनामा युवा पुस्ताको प्रतिनिधित्व बढाउनुपर्ने एजेन्डासहित आफूलाई केन्द्रीय सदस्यका रूपमा अघि सारेका छन् ।
कांग्रेसको संशोधित विधानले पार्टीका विभिन्न तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरेको छ। ३५ वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा समेत प्रतिनिधित्वको व्यवस्था गरिएको छ। यसपटक सात प्रदेशबाट १ महिलासहित २ जना र खुलातर्फ ७ जना गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
तिवारीले स्थानीय तहको नेतृत्वमा प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिन लागेको बताएका छन् । स्थानीय सरकार सञ्चालन, उद्यमशीलता, लगानी र युवासँगको सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै उनले कांग्रेसको केन्द्रीय नेतृत्वमा नयाँ पुस्ताको भूमिका बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । उनी पार्टीभित्र सम्भावना भएका युवा नेताको रुपमा चिनिएका छन् ।









प्रतिक्रिया दिनुहोस्