Skip to content

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा ३ प्रमुख शहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन आज पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत पूँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

पोखरामा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट उपस्थित रहेका थिए ।
कार्यक्रममा करिब ६०० जनाको सहभागिता रहेको थियो ।

त्यस्तै, विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यसहित करिब ३५० जनाको सहभागिता रहेको थियो ।

सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठसहित करिब ४०० जनाको उपस्थिति रहेको थियो ।

प्रभातफेरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पूँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरिएको प्रभातफेरीले पूँजी बजारप्रति सर्वसाधारणको बुझाइ अभिवृद्धि गर्नुका साथै लगानी गर्दा आवश्यक जानकारी हासिल गर्ने, जोखिम पहिचान गर्ने तथा सचेत र जिम्मेवार लगानी गर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विश्व लगानीकर्ता सप्ताह आश्विन १९ गतेदेखि २५ गतेसम्म एक साताभर मनाइँदैछ । सप्ताहका क्रममा पूँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले देशका विभिन्न ठाउँहरूमा पूँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता आयोजना गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima