काठमाडौं । बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालन गर्दै आएको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना पूर्ण रूपमा बन्द भएको छ।
गत असोज २५ गते बिहान आएको बाढीले आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्याएपछि विद्युत् उत्पादन ठप्प भएको कम्पनीले जनाएको छ। प्रसारण लाइनमा भएको क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेकाले आयोजना पुनः सञ्चालनमा आउन कति समय लाग्ने भन्ने यकिन हुन सकेको छैन।
कम्पनीका अनुसार क्षतिको मूल्याङ्कन, मर्मतसम्भारमा लाग्ने समय तथा विद्युत् उत्पादन पुनः सुरु गर्ने समयबारे अहिले नै स्पष्ट जानकारी दिन सकिने अवस्था छैन। यसले आयोजनाको सञ्चालन अनिश्चित बनेको छ।
नजिकिँदै गरेको बडादसैँका कारण आवश्यक जनशक्ति परिचालन, मर्मतसम्भारका लागि आवश्यक सामग्री व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा थप चुनौती आउन सक्ने कम्पनीले उल्लेख गरेको छ।
यद्यपि, क्षतिको विस्तृत मूल्याङ्कन गरी आवश्यक मर्मतसम्भार तथा आयोजना पुनः सञ्चालनका लागि यथाशीघ्र पहल गरिने कम्पनीले जनाएको छ।
बाढीका कारण प्रसारण लाइनमा भएको क्षतिले आयोजनाको विद्युत् उत्पादन प्रभावित बनेसँगै पुनः सञ्चालनको समय अनिश्चित बनेको हो।













प्रतिक्रिया दिनुहोस्