काठमाडौं । सेयर बजारमा हरियाली छाउने समयमा पनि सेयर धितोमा जाने कर्जा अपेक्षित रुपमा वृद्धि हुन सकेको छैन । अहिले ब्याजदर न्यून हुनुका साथै सरकारले पुँजी बजार सुधारका लागि विभिन्न नीतिगत पहल अघि बढाउँदा पनि लगानीकर्ताको व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितोकर्जा (मार्जिन लोन) ६८ लाख १० हजार रुपैयाँले मात्रै बढेको छ । सेयर बजारमा लगानी विस्तारका लागि अनुकूल मानिएको समयमा समेत लगानीकर्ताले पर्याप्त चासो नदेखाएको नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष राजन लम्साल बताउँछन् ।
सामान्यतया वैशाखदेखि साउनसम्मको अवधिलाई सेयर बजारका लागि अनुकूल सिजनका रूपमा लिने गरिन्छ । आर्थिक वर्षको अन्त्यसँगै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने, लाभांश घोषणा गर्ने तथा नयाँ आर्थिक वर्षका लागि लगानीसम्बन्धी योजना अघि बढाउने भएकाले यस अवधिमा बजारमा गतिविधि बढ्ने अपेक्षा गरिन्छ ।
तर, यसपटक न्यून ब्याजदर र नीतिगत सुधारका प्रयासका बाबजुद सेयर बजारमा अपेक्षित उत्साह देखिन नसकेको लम्साल बताउँछन् । उनका अनुसार बजारमा सकारात्मक प्रभाव पार्नुपर्ने समयमा समेत लगानीकर्ताको मनोबल बढ्न नसक्नुले बजारमा अझै विश्वासको कमी रहेको संकेत गर्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितोकर्जा १ खर्ब ४४ अर्ब ४६ करोड ६९ लाख ९० हजार रुपैयाँ पुगेको छ । साउन मसान्तमा यस्तो कर्जा एक खर्ब ४४ अर्ब ४६ करोड एक लाख ८० हजार रुपैयाँ थियो ।
१ महिनामा सेयर धितोकर्जा ६८ लाख १० हजार रुपैयाँले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार साउनको तुलनामा भदौमा ५ वटा वाणिज्य बैंकको सेयर धितोकर्जा घटेको छ ।
यस अवधिमा एभरेस्ट बैंकको सेयर धितोकर्जा ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल एसबीआई बैंकको ५.८१ प्रतिशत, सिटिजन्स बैंकको तीन प्रतिशत, सिद्धार्थ बैंकको २.६८ प्रतिशत र नबिल बैंकको ०.४८ प्रतिशतले घटेको छ ।
अन्य केही बैंकको सेयर धितोकर्जा भने बढेको छ। सबैभन्दा धेरै वृद्धि माछापुच्छ्रे बैंकमा देखिएको छ । उक्त बैंकको सेयर धितोकर्जा एक महिनामा ७.८९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, लक्ष्मी बैंकको सेयर धितोकर्जा १.७८ प्रतिशत, ग्लोबल आइएमई बैंकको १.६५ प्रतिशत, हिमालयन बैंकको १.४८ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १.१३ प्रतिशत, एनआईसी एसिया बैंकको ०.६५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ०.७४ प्रतिशत, नेपाल बैंकको ०.४० प्रतिशत, कुमारी बैंकको ०.२८ प्रतिशत र कृषि विकास बैंकको ०.०७ प्रतिशतले बढेको छ ।
एक महिनाको अवधिमा चारवटा बैंकले सेयर धितोकर्जामा कुनै वृद्धि गरेका छैनन्। प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक र सानिमा बैंकको सेयर धितोकर्जा उक्त अवधिमा बढेको देखिँदैन ।
नीतिगत सुधार भए पनि लगानीकर्तामा विश्वासको कमी
पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणका लागि सरकार तथा नियामक निकायले विभिन्न सुधारका कार्यक्रम अघि बढाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि २१ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेका छन् । भदौ २९ गते सार्वजनिक गरिएको उक्त कार्ययोजनाबारे अर्थमन्त्री वाग्लेले त्यसअघि नै विभिन्न सार्वजनिक कार्यक्रममा सुधारका योजना ल्याउने, पुँजीगत लाभकर घटाउने घोषणा गरिसकेका थिए । सरकारले पुँजीगत लाभकर समेत घटाइसकेको छ ।
मन्त्री वाग्लेले ल्याएको कार्ययोजनामा पुँजी बजारको संरचनागत सुधार, कारोबार प्रणालीको आधुनिकीकरण तथा लगानीकर्ताको सहभागिता विस्तारलाई प्राथमिकता दिइएको छ ।
उक्त कार्ययोजनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को मूल्य निर्धारण प्रणालीमा सुधार, मार्जिन कारोबार तथा इन्ट्राडे कारोबारको व्यवस्था र सर्ट सेलिङलाई कानुनी आधार दिने विषय पनि कार्ययोजनामा समावेश छन् ।
त्यस्तै, गैरआवासीय नेपाली (एनआरएन) तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, बन्ड बजारको विकास, ब्रोकर प्रणालीको आधुनिकीकरण र लगानीकर्ता संरक्षणलाई समेत प्राथमिकतामा राखिएको छ ।
यस्ता सुधारले दीर्घकालमा पुँजी बजारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिए पनि त्यसको प्रभाव तत्कालै लगानीकर्ताको व्यवहारमा देखिन नसकेको लम्साल बताउँछन् ।
न्यून ब्याजदरले पनि बढाउन सकेन लगानीकर्ताको उत्साह
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको ब्याजदर निकै सस्तो छ । हाल बैंक तथा वित्तीय संस्थाको औसत आधारदर (बेसरेट) ६.३८ प्रतिशत छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा निकै कम छ ।
भदौ मसान्तसम्म यस्तो अनुपात ७१.२१ प्रतिशत रहेको छ । बजारमा लगानीका लागि अनुकूल परिस्थिति हुँदासमेत लगानीकर्ताको आत्मविश्वास कमजोर रहेकाले उत्साह नदेखिएको लम्साल बताउँछन् ।
“लगानीकर्ताको पक्षमा नीति–नियम आउँदाआउँदै पनि लगानीकर्ताहरूले बजारबाट तत्काल प्रतिफल देखेनन्,” उनी भन्छन्, “चाडपर्वको माहोल र पहिलो त्रैमासिकको वित्तीय विवरण कस्तो आउने हो भन्ने लगायतका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।”
लम्सालका अनुसार कात्तिक महिनामा दसैँ र तिहारको बिदाका कारण बजार खुल्ने दिन पनि कम छन् । “कात्तिकमा जम्मा १२ दिन मात्रै सेयर कारोबार हुन्छ,” उनी भन्छन् ।
अनौपचारिक कारोबार र सरकारको निगरानीले पनि लगानी प्रभावित
नेपालको पुँजी बजारमा औपचारिकभन्दा अनौपचारिक कारोबारको हिस्सा बढी रहेको एक जानकार बताउँछन् । उनका अनुसार सरकारले पछिल्लो समय अनौपचारिक क्षेत्रको लगानीमाथि निगरानी बढाएकाले पनि सेयर बजारमा ठूलो रकम भित्रिन नसकेको हो । सरकारले आयस्रोत र पैसाको स्रोत खोज्न थालेपछि लगानीकर्तामा डर देखिएको ती जानकारको भनाइ छ ।
“अहिले कसैसँग पैसा सापटी नलिने, बाहिरबाट पैसा नल्याउने र बजारमा पनि लगानी नगरी केही समय पर्खिने अवस्था छ । सरकारले कस्तो कदम चाल्छ र कसरी अगाडि बढ्छ भनेर लगानीकर्ताहरू हेरिरहेका छन्,” उनी भन्छन् । उनका अनुसार पछिल्लो समय सरकारले लगानीकर्तामाथि अनावश्यक दबाब सिर्जना गरेको अनुभूति पनि केही लगानीकर्तामा देखिएको छ । त्यसले लगानीकर्ताको मनोबल कमजोर बनाएको उनको भनाइ छ ।
नीतिगत सुधार, न्यून ब्याजदर र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि सेयर धितोकर्जामा उल्लेख्य वृद्धि नदेखिनुले लगानीकर्ताको विश्वास पुनःस्थापित गर्नु चुनौतीपूर्ण रहेको संकेत गर्छ । बजारमा दीर्घकालीन सुधारका प्रयाससँगै लगानीकर्ताले नीतिगत स्थिरता र प्रतिफलको स्पष्ट सम्भावना अनुभूत गर्न सके मात्रै लगानी विस्तारले गति लिन सक्ने देखिन्छ ।











प्रतिक्रिया दिनुहोस्