Skip to content

उपभोक्ताको भान्सादेखि यातायातसम्ममा महँगी, मुद्रास्फीति ६.३४ प्रतिशत पुग्यो

काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा बढेको छ । भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । घ्यू तथा तेल, फलफूल, चिनी तथा चिनीजन्य पदार्थ, माछा तथा मासु र तरकारीको मूल्यमा भएको वृद्धिले उपभोक्ताको भान्सामा महँगीको दबाब बढाएको छ ।

घ्यू तथा तेलको मूल्य १६.६८ प्रतिशत र फलफूलको मूल्य १५.९९ प्रतिशतले बढेको छ । त्यस्तै, चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत र तरकारीको ७.०७ प्रतिशतले बढेको छ ।

यातायात क्षेत्रमा पनि महँगीको दबाब उच्च देखिएको छ । यातायात उपसमूहको मूल्य सूचकाङ्क १२.७७ प्रतिशतले बढेको छ । यसैगरी, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा मुद्रास्फीति ६.७८ प्रतिशत र सहरी क्षेत्रमा ६.१९ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ७.४८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ५.१६ प्रतिशत मुद्रास्फीति देखिएको छ ।

यसैबीच, २०८३ भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.१० प्रतिशत थियो । नेपालमा उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहँदा सन् २०२६ अगस्टमा भारतको मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima