Skip to content

धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश विस्तार गर्न नयाँ नीति सार्वजनिक, के–के छन् व्यवस्था ? (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्यसहित संस्थागत लगानीकर्ता नीति, २०८३ सार्वजनिक गरेको छ। बोर्डले प्रस्तावित नीतिमाथि सरोकारवाला पक्षबाट रचनात्मक राय तथा सुझाव माग गरेको छ ।

नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३, बोर्डको आर्थिक वर्ष २०८३–८४ को पूँजी बजार नीति तथा नेपाल सरकार, अर्थ मन्त्रालयद्वारा २०८३ भदौ २९ गते घोषणा गरिएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ का २१ बुँदाको मार्गदर्शनअनुरूप उक्त नीति सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

प्रस्तावित नीतिले धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा संस्थागत लगानीकर्ताको प्रवेश र सञ्चालनलाई सहज, एकरूप, स्पष्ट तथा जिम्मेवार बनाउने उद्देश्य राखेको छ। यसका लागि आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत व्यवस्था प्रस्ताव गरिएको छ ।

नीतिमा संस्थागत लगानीकर्ताको वर्गीकरण तथा दर्ता, लगानी विविधीकरण, वित्तीय उपकरणको प्रयोग, लगानी सीमा निर्धारण, सुशासन, जोखिम व्यवस्थापन, बजार आचरण, सूचनाको खुलासा, नियामकीय अनुगमन तथा चरणबद्ध कार्यान्वयनसम्बन्धी व्यवस्था समेटिएका छन् । साथै, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्न आवश्यक कानुनी तथा नियामकीय सुधार र सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणासमेत प्रस्ताव गरिएको छ ।

व्यक्तिगत लगानीकर्ताको बाहुल्यता रहेको नेपालको पूँजी बजारमा व्यावसायिक तथा सक्षम संस्थागत लगानीकर्ताको दीर्घकालीन सहभागिता बढाउन सके बजारको गहिराइ, तरलता, पारदर्शिता र स्थायित्व अभिवृद्धि हुने अपेक्षा बोर्डले गरेको छ ।

प्रस्तावित नीतिले संस्थागत लगानीकर्ताको प्रवेश तथा सञ्चालनलाई व्यवस्थित गर्दै समग्र पूँजी बजारलाई सन्तुलित र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima