Skip to content

दोस्रो बजार सञ्चालन लगायत ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गरी बजार सुधारमा लाग्छौ: अध्यक्ष भट्ट

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज सुधार प्रक्रिया अगाडि बढाउन बोर्डका उच्च पदाधिकारी तथा नेप्सेका सञ्चालक समितिसँग छलफल गरेको छ ।

सरकारले गठन गरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधिकरण विषयमा नेपाल धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारीबीच बोर्डमा बिहीबार छलफल भएको छ ।

छलफल नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्यप्रक्रिया र कारोबार प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रित रहेको थियो ।

पूँजी, जनशक्ति तथा सूचना प्रविधि पूर्वाधार आधुनिक स्टक एक्सचेञ्जका लागि अपरिहार्य विषय रहेको जानकारी भन्दै बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले स्टक एक्सचेञ्ज सुधार प्रक्रियाको शुरुवातको रुपमा पहिलो पटक छलफल कार्यक्रम आयोजना गरेको बताए ।

नेप्सेको पूँजी तथा स्वामित्वको पुनर्संरचनाको काम र दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधिकरणसँग सम्बन्धित विभिन्न ३० भन्दा बढी विषयमा बोर्डको नियामकीय अधिकार प्रयोग गरी धितोपत्र बजार सुधारको कार्य साथसाथै अगाडि बढाउने बोर्डको आगामी कार्यदिशा रहेको जानकारी गराए ।

छलफलका क्रममा नेप्सेको सञ्चालक समितिका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह-सचिव नारायण प्रसाद रिसालले बोर्ड र नेप्सेको सञ्चालक समितिबीच भएको यस छलफल कार्यक्रमलाई धितोपत्र बजार सुधारको नयाँ शुरुवातको संज्ञा दिँदै नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा उल्लिखित तत्काल कार्यान्वयन गर्न सकिने विषयमा हाल नेप्से केन्द्रित रहेको बताए ।

साथै,उनले नेप्सेको प्रविधि र प्रणाली, संस्थागत सुशासन, लगानी उपकरण र सेवाको सुधारका लागि प्रतिवद्ध रहेको बताए ।

बोर्डका उप कार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचना सम्बन्धी प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन तथा दोस्रो बजारको सञ्चालन, व्यवस्थापनलाई थप प्रभावकारी बनाउने एवं धितोपत्र बजार उपकरण तथा सेवा विविधिकरण विषयमा बोर्डले तयार गरेको नियामकीय विषयमा प्रस्तुतीकरण गरे ।

नेप्सेको पुनर्संरचना तथा दोस्रो बजारको प्रभावकारी सञ्चालनमार्फत् नेपालको पुँजी बजारमा लगानीका विकल्प विस्तार, कारोबार प्रणालीको विश्वसनीयता वृद्धि र बजारको पारदर्शिता सुदृढ गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima