Skip to content

दशैंको मुखमा वालेट प्रयोगकर्तालाई राष्ट्र बैंकको सहुलियत, दिनमै ५० पटकसम्म रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ। केन्द्रीय बैंकले हाल दैनिक अधिकतम १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्थालाई बढाएर ५० पटकसम्म पुर्‍याएको हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असोज २९ गते भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

परिपत्रअनुसार बडादशैंको अवसरमा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ ।

यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको निर्देशन नम्बर ५/०८२ को बुँदा नम्बर ३ को उपबुँदा २ अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।

चाडपर्वका समयमा डिजिटल भुक्तानी तथा वालेटमा रकम जम्मा गर्ने कारोबार बढ्ने भएकाले राष्ट्र बैंकले निश्चित अवधिका लागि यस्तो सुविधा दिएको हो ।

केन्द्रीय बैंकले उक्त अवधिमा भएका कारोबारको संख्या र कुल कारोबार रकमको विवरण भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई विभागमा उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।

राष्ट्र बैंकको यो व्यवस्थाले दशैं, तिहार र छठका बेला डिजिटल वालेटमा पटक–पटक रकम जम्मा गर्नुपर्ने प्रयोगकर्तालाई सहज हुने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima