Skip to content

नेपाली मूलका चिकित्सक डा.बिशाल भण्डारी अमेरिकामा स्वास्थ्य पैरवीमा योगदानका लागि सम्मानित

काठमाडौं । नेपाली मूलका चिकित्सक तथा अमेरिकाको मेरिल्यान्ड राज्यस्थित कमिशन अन साउथ एशिएन अमेरिकन एफियर्सको स्वास्थ्य समितिका अध्यक्ष डा. बिशाल भण्डारी अमेरिकामा स्वास्थ्य पैरवी तथा स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने दिशामा पुर्याएको योगदानका लागि सम्मानित भएका छन् ।

डा. भण्डारीलाई सन् २०२६ अक्टोबर १० मा अमेरिकाको मेरिल्यान्ड राज्यको रकभिलमा आयोजित पहिलो साउथ एशिएन अमेरिकन हेल्थ समिटमा मेरिल्यान्डका गभर्नरको तर्फबाट प्रदान गरिने सम्मानपत्र (गभर्नर्स साइटेसन) प्रदान गरिएको हो ।

उक्त सम्मेलनमा दक्षिण एसियाली समुदायले भोगिरहेका स्वास्थ्यसम्बन्धी असमानता न्यूनीकरण तथा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल गर्न स्वास्थ्य क्षेत्रका विज्ञ, नीतिनिर्माता तथा सामुदायिक अगुवाहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा डा. भण्डारीले दक्षिण एसियाली समुदायको क्लिनिकल अनुसन्धानमा न्यून प्रतिनिधित्व तथा उनीहरूको विशिष्ट स्वास्थ्य जोखिमलाई समेट्ने चिकित्सा निर्देशिकाको आवश्यकता माथि जोड दिए । विशेषगरी मुटुरोग तथा मधुमेहसम्बन्धी जोखिमलाई ध्यानमा राख्दै उनले स्वास्थ्यसम्बन्धी विद्यमान असमानता सम्बोधन गर्न प्रभावकारी पैरवी, समावेशी अनुसन्धान तथा प्रमाणमा आधारित स्वास्थ्य सेवाको महत्व औँल्याए ।

स्वास्थ्य क्षेत्रमा दीर्घकाल देखि विद्यमान चुनौतीहरूलाई नीति निर्माता र स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ता माझ उजागर गर्नु नै सार्थक परिवर्तन तर्फको महत्वपूर्ण पहिलो कदम भएको डा. भण्डारीले उल्लेख गरे । उनका विचार र पहलले स्वास्थ्य सेवामा समानता र समावेशिताका लागि नीतिगत तहमा संवाद अघि बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।

अमेरिकाको राज्यस्तरीय महत्वपूर्ण मञ्चमा प्राप्त यो सम्मानले नेपाली मूलका दक्ष जनशक्तिले अन्तर्राष्ट्रिय स्वास्थ्य विमर्श, नीतिगत पैरवी तथा अनुसन्धानका क्षेत्रमा निर्वाह गर्न सक्ने प्रभावकारी भूमिका लाई उजागर गरेको छ । साथै, विदेशमा रहेका नेपाली मूलका पेशाकर्मीहरूले आफ्नो ज्ञान, नेतृत्व र अनुभव मार्फत राष्ट्रिय सीमा भन्दा बाहिर पनि सकारात्मक प्रभाव सिर्जना गर्न सक्ने सम्भावनालाई यसले प्रतिबिम्बित गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima