काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रहरी कर्मचारी, तिनका परिवार तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना बनाइएको बताए ।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई आधुनिक, प्रविधियुक्त र विपद् सामना गर्न सक्षम संगठनका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
“विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी” भन्ने नाराका साथ मनाइँदै गरेको ७१औँ प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शाहले राष्ट्रको सेवा गर्ने क्रममा हालैको भोटेकोशी–त्रिशूली विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गरेका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रहरी संगठनलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्ने पूर्वप्रहरीप्रति आभार व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको बताएका छन्। यसका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा थप प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको उनले जानकारी दिएका छन्।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। यी पहलले वित्तीय तथा साइबर अपराध नियन्त्रण र नागरिकका गुनासो सम्बोधनलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा छ ।
नेपाल प्रहरीको इतिहास, वर्तमान र भविष्यलाई जोड्ने उद्देश्यले प्रहरी दिवसका अवसरमा विमोचन गरिएको ‘पुलिस मिरर २०२६’ ले संगठनको इतिहास र योगदानलाई भावी पुस्तासम्म पुर्याउन सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।
उनले देशको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निरन्तर अग्रभागमा रहेर काम गरिरहेको उल्लेख गरेका छन् । आगामी दिनमा आउन सक्ने विपद् तथा संकटको सामना गर्न प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रहरीको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवाद दिँदै प्रधानमन्त्री शाहले संकटका बेला राष्ट्रसेवकको धैर्य, सही निर्णय र कुशल कार्यसम्पादन नै चुनौती सामना गर्ने प्रमुख आधार भएको बताए ।










प्रतिक्रिया दिनुहोस्