काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको करिब २५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कुल २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ लगानी गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर प्रस्ताव आह्वान गरेको हो ।
राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मुद्दती निक्षेपमा लगानीका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको छ । उक्त रकम आगामी २०८३ कात्तिक १६ गतेदेखि ३६६ दिनका लागि मुद्दती निक्षेपमा राखिनेछ ।
राष्ट्र बैंकले लगानी गर्न लागेको रकममध्ये सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकका लागि छुट्याएको छ । ‘क’ वर्गका वाणिज्य बैंकका लागि १९ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकका लागि ३ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ अर्ब २४ करोड १८ लाख रुपैयाँ छुट्याइएको छ ।
मुद्दती निक्षेपमा रकम राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर सिलबन्दी फाराम पेस गर्नुपर्नेछ । आवेदन पासवर्ड सुरक्षित गरिएको पीडीएफ फाइलमा तयार गरी राष्ट्र बैंकको तोकिएको इमेल ठेगानामा पठाउनुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार आवेदन आगामी कात्तिक १० गते राति १२ बजेसम्म पठाइसक्नुपर्नेछ । आवेदनसँग सम्बन्धित फाइलको पासवर्ड भने कात्तिक ११ गते राति १२ बजेसम्म सोही इमेलमा पठाउनुपर्नेछ । आवेदन आधिकारिक संस्थागत इमेलबाट मात्रै पठाउनुपर्ने व्यवस्था गरिएको छ । जीमेल, याहु र हटमेलजस्ता व्यक्तिगत इमेलबाट पठाइएका आवेदन मान्य हुने छैनन् ।
राष्ट्र बैंकको मुद्दती निक्षेपमा रकम प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाले विभिन्न मापदण्ड पूरा गरेको हुनुपर्नेछ । संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेअनुसार बफरसहितको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्नेछ ।
त्यस्तै, निष्क्रिय कर्जा अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी हुनु हुँदैन । खुद तरल सम्पत्ति अनुपात तथा कर्जा–निक्षेप अनुपात पनि राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेछ ।
सम्बन्धित संस्थाले पछिल्लो आर्थिक वर्षमा खुद मुनाफा आर्जन गरेको र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने व्यवस्था छ । यसका साथै राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेको वा समस्याग्रस्त घोषणा भएको संस्था भए त्यस्तो कारबाही वा घोषणा फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्नेछ ।
यी सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले मात्रै राष्ट्र बैंकको मुद्दती निक्षेपमा रकम प्राप्त गर्नका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्