काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका सातवटा शाखा कार्यालयलाई एकआपसमा समायोजन गर्ने भएको छ । बैंकले जारी गरेको सूचनाअनुसार आगामी २०८३ माघ १८ गतेदेखि शाखा समायोजन गरी बैंकिङ कारोबार सञ्चालन गरिनेछ ।
बैंकका अनुसार बागमती, लुम्बिनी र कोशी प्रदेशअन्तर्गतका शाखाहरू समायोजन गर्न लागिएको हो । शाखा समायोजनपछि सम्बन्धित ग्राहकहरूले समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालयबाट पूर्ववत् रूपमा सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँको ठूलो भयाङ शाखा स्वयम्भू शाखामा समायोजन हुनेछ । त्यसैगरी, रुपन्देहीको राममन्दिर बुटवल शाखा बुटवल शाखामा, देवीनगर शाखा राजमार्ग चौराहा शाखामा र देवकोटा चोक शाखा भैरहवा शाखामा समायोजन गरिनेछ ।
यस्तै, झापाको फाल्गुनन्द चोक शाखा दमक शाखामा, काठमाडौँको ट्याङ्लाफाँट शाखा कीर्तिपुर शाखामा तथा भक्तपुरको बोडे शाखा पुरानो ठिमी शाखामा समायोजन हुने बैंकले जनाएको छ ।
समायोजन हुने शाखाहरूमा खाता रहेका ग्राहकहरूको व्यक्तिगत विवरणसहितका कागजातहरू समायोजनपछि सञ्चालनमा रहने सम्बन्धित शाखा कार्यालयमा स्थानान्तरण गरिने सूचनामा उल्लेख छ ।
बैंकले शाखा समायोजनसम्बन्धी जानकारी आफ्ना ग्राहक तथा सम्बन्धित सबैलाई गराएको छ ।












प्रतिक्रिया दिनुहोस्