Skip to content

निष्क्रिय कर्जा र प्रोभिजन घट्दा सानिमा बैंकको नाफा १३१ प्रतिशत बढ्यो

nabil
global ime

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको खुद नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष कर्जा नोक्सानी व्यवस्थापनबापतको रकम घट्नुका साथै खुद ब्याज आम्दानी र सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्भावित कर्जा जोखिम व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि ९५ करोड ६७ लाख रुपैयाँ छुट्याएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम घटाएर ३३ करोड ९ लाख रुपैयाँमा सीमित गरेको छ ।

यसैगरी, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ९.४२ प्रतिशत वृद्धि गर्दै १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको सेवा शुल्क तथा कमिसन आम्दानीमा समेत उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ४६.८६ प्रतिशतले बढेर ४४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले यस शीर्षकबाट ३० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सानिमा बैंकले समीक्षा अवधिमा निक्षेप तथा कर्जा विस्तारलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षको असार मसान्तमा २ खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ रहेको ग्राहक निक्षेप २.०८ प्रतिशतले बढेर चालु आर्थिक वर्षको असोज मसान्तमा २ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

यसैगरी, बैंकको कर्जा प्रवाह पनि १.७८ प्रतिशतले बढेको छ । गत असार मसान्तमा १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ रहेको कर्जा प्रवाह असोज मसान्तसम्म बढेर १ खर्ब ९९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो ।

बैंकले सम्पत्तिको गुणस्तर सुधारमा समेत प्रगति गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको छ ।

यसैगरी, खुद निष्क्रिय कर्जा अनुपात पनि १.५८ प्रतिशतबाट घटेर १.०८ प्रतिशतमा सीमित भएको छ । कुल निष्क्रिय कर्जाको तुलनामा गरिएको कर्जा नोक्सानी व्यवस्थाको अनुपात अर्थात् प्रोभिजन कभरेज १०५.४६ प्रतिशतबाट बढेर १३६.७१ प्रतिशत पुगेको छ ।

ब्याजदरमा आएको परिवर्तनसँगै बैंकको आधार दर र निक्षेपको लागतमा पनि कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.५९ प्रतिशत रहेको बैंकको आधार दर चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.६० प्रतिशत कायम भएको छ ।

निक्षेपको लागत ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ । बैंकको ब्याजदर अन्तर अर्थात् स्प्रेड दर पनि ३.६५ प्रतिशतबाट घटेर ३.१७ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.२३ प्रतिशत रहेको छ ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ १५ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ ।

१५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १३.४७ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात ९.७० प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima