Skip to content

चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह

nabil
global ime

काठमाडौं । नेपाल पर्यटन बोर्डले चक्रवात अर्नबको प्रभावले भारी वर्षा र हिमपात हुनसक्ने भएकोले सतर्कता अपनाउन पर्यटकहरुलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘अर्नब’को प्रभावका कारण अक्टोबर २९ को रातिदेखि नेपालका विभिन्न भागमा मौसम प्रभावित हुने तथा ३० र ३१ अक्टोबरमा भारी वर्षा, चट्याङ र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

यसकारण नेपाल पर्यटन बोर्डले स्वदेशी तथा विदेशी पर्यटक र यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले यात्रा तथा पदयात्रामा विशेष सावधानी अपनाउन बोर्डले अनुरोध गरेको हो ।

वर्षाका कारण पहिरो, आकस्मिक बाढी तथा नदीमा जलसतह बढ्ने जोखिम रहनुका साथै पहाडी सडक र नदी किनारका यातायात मार्ग प्रभावित हुन सक्ने जनाइएको छ । यसले सडक तथा हवाई यातायातमा समेत अवरोध सिर्जना गर्न सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसम पूर्वानुमान र सडकको अवस्थाबारे आधिकारिक सूचना लिन बोर्डले आग्रह गरेको हो ।

बोर्डले भारी वर्षाका बेला अत्यावश्यकबाहेकका यात्रा नगर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा तय गरिएका पदयात्रा र भ्रमण मौसम अनुकूल नहुँदासम्म स्थगित गर्न तथा प्रभावित क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा रहन सुझाएको छ ।

नदी किनार, पहिरोको जोखिम भएका भिरालो क्षेत्र र अन्य जोखिमयुक्त स्थानबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न पनि बोर्डले अनुरोध गरेको छ । आपत्कालीन सहायता तथा जानकारीका लागि मौसमसम्बन्धी सूचना लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ र पर्यटक प्रहरी ११४४ मा सम्पर्क गर्न सकिनेछ ।

नेपाल पर्यटन बोर्डले पर्यटकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै सबै यात्रुलाई आधिकारिक सूचनाहरु पछ्याउन, मौसमको अवस्था मूल्याङ्कन गरेर यात्रा योजना बनाउन र प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T