Skip to content

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार दुई रोमाञ्चक खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिनेछन्।

आजको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। त्यस्तै, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। दोस्रो खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ।

पहिलो खेलमा विराटनगर र जनकपुर दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिनेछन्। तीन खेलबाट दुई अंक जोडेको विराटनगरले हालसम्म एक जित र दुई हार बेहोरेको छ। सुरुवाती दुई खेलमा पराजित भएको विराटनगरले पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो।

यता जनकपुर भने राम्रो लयमा छ। तीन खेल खेलेको टोलीले दुई जित र एक हारसहित चार अंक जोडेको छ। पछिल्ला दुई खेलमा लगातार जित निकालेको जनकपुर आजको खेलमा पनि आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ। अंकतालिकामा दोस्रो स्थानमा रहेको जनकपुरलाई विराटनगरले कडा चुनौती दिने अपेक्षा गरिएको छ।

आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ। लुम्बिनीले प्रतियोगितामा एक जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो। तीन अंकसहित तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी आज जित निकाल्दै शीर्ष स्थानतर्फ अघि बढ्ने योजनामा हुनेछ।

अर्कोतर्फ पोखरा एभेन्जर्सका लागि आजको खेल निकै महत्वपूर्ण छ। दुई खेल खेलेको पोखराले दुवैमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको पोखरा पछिल्लो खेलमा जनकपुर बोल्ट्ससँग नौ रनले हारेको थियो। त्यसैले टोली आज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T