काठमाडौं । होटल तथा पर्यटन क्षेत्रमा लगानी तथा प्रतिस्पर्धा बढ्दै गए पनि विभिन्न आन्तरिक तथा बाह्य चुनौतीका कारण व्यवसायको नाफामा अपेक्षित सुधार हुन नसकेको कम्पनीहरूले जानकारी दिएका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा होटल तथा पर्यटक क्षेत्रका आठ कम्पनीमध्ये २ कम्पनीमात्र नाफामा रहेका छन् । बाँकी ६ कम्पनी नोक्शानिमा रहेका छन् । चालु आर्थिक वर्षको ३ महिनासम्म आउँदा सोल्टी होटल र चन्द्रागिरि हिल्स नाफामा रहेका छन् । सोल्टी होटलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले नाफा बढाएको छ ।
यसैगरी, गत आर्थिक वर्षको असोज मसान्तसम्म नोक्सानीमा रहेको चन्द्रागीरि हिल्स चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा २ करोड ८३ लाख रुपैयाँ नाफामा रहेको कम्पनीले जानकारी दिएको छ ।
नाफामा जान नसकेका कम्पनीमध्ये ओरिएन्टल होटल्सले नोक्सानी घटाएको छ । कम्पनीको खुद नोक्सानी गत वर्षको २ करोड ९५ लाख ५६ हजार रुपैयाँबाट घटेर २८ लाख रुपैयाँमा सीमित भएको छ ।
सिटी होटलले पनि नोक्सानी घटाएर ४ करोड ३३ हजार रुपैयाँमा झारेको छ। यसैगरी, होटल फरेस्ट इनको नोक्सानी घटेर ४ करोड ९९ लाख ४८ हजार रुपैयाँ र बन्दीपुर केबलकार एन्ड टुरिजमको नोक्सानी घटेर १ करोड ५३ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।
यस अवधिमा तारागाउँ रिजेन्सी होटल र कालिन्चोक दर्शनको नोक्सानी भने थप बढेको छ। तारागाउँको घाटा बढेर ३ करोड २५ लाख ६५ हजार रुपैयाँ पुगेको छ । कालिन्चोक दर्शनको नोक्सानी पनि बढेर ४५ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।
यी कम्पनीहरू गत आर्थिक वर्षको असोज मसान्तसम्म पनि नोक्सानीमा रहेका थिए । गत आर्थिक वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा अमेरिका, इरान र इजरायल लगायतका देशका भएको आन्दोलनको कारण पर्यटन आगमन घट्दा कम्पनीको नाफामा पनि सुधार आउन नसकेको कम्पनीहरूले जानकारी दिएका छन् ।
कम्पनीहरूले आफ्नो वित्तीय चुनौतीमा उल्लेख गरे अनुसार पछिल्लो समय अप्रत्याशित रूपमा भएको जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । त्यस्तै, देशमा नयाँ–नयाँ होटलहरू निर्माण भई सञ्चालनमा आउने क्रम बढे पनि सोही अनुपातमा पर्यटक आगमन वृद्धि हुन नसक्दा होटल व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको छ ।
रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व तथा इरान–अमेरिका तनावजस्ता अन्तर्राष्ट्रिय घटनाक्रमले समेत नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारेको कम्पनीको भनाइ छ । यसका अतिरिक्त राजनीतिक अस्थिरता, बन्द–हडताल, आन्तरिक पर्यटन प्रवर्द्धनको कमी, पर्यटकमैत्री सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाई उडानमा सिट क्षमताको न्यूनताले पर्यटन व्यवसाय थप प्रभावित भएको उल्लेख गरिएको छ ।
पर्यटन क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधारको कमी, विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढाव तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धिका कारण हवाई भाडा महँगिनुले पनि पर्यटक आगमनमा असर पारेको कम्पनीले जनाएको छ । त्यस्तै, प्राकृतिक तथा दैवी प्रकोप र अन्य अप्रत्याशित परिस्थितिले पनि पर्यटन व्यवसायमा अनिश्चितता सिर्जना गर्ने गरेको छ ।
कम्पनीले आन्तरिक रूपमा कुनै उल्लेखनीय समस्या नरहेको जनाएको छ । तर बाह्य चुनौतीका कारण पर्यटक आगमन, होटलको व्यावसायिक गतिविधि तथा आम्दानी प्रभावित हुँदा अपेक्षित नाफा हासिल गर्न कठिनाइ भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्