काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व एक वर्षमा ४५.०६ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार बैंकको सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार पुगेको हो ।
बैंकको २०८२ असार मसान्तमा रहेको तुलनामा बैंकको कुल सम्पत्ति तथा दायित्वमा उल्लेख्य वृद्धि भएको हो। २०८३ असार मसान्तमा बैंकको कुल सम्पत्तिमा लगानी (गोल्ड सर्टिफिकेट समेत) को अंश ८९.७२ प्रतिशत रहेको छ। त्यस्तै, नगद तथा बैंक मौज्दात सम्पत्तिको अंश ६.८७ प्रतिशत र अन्य सम्पत्तिको अंश ३.४१ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा यी सम्पत्तिहरूको अंश क्रमशः ८८.९२ प्रतिशत, ७.३२ प्रतिशत र ३.७६ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमा गरेको लगानी ४६.३६ प्रतिशतले वृद्धि भई ३४ खर्ब ७६ अर्ब ५१ करोड ७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा यस्तो लगानी २३ खर्ब ७५ अर्ब २६ करोड २ लाख ९१ हजार रुपैयाँ रहेको थियो। त्यसैगरी, नगद तथा बैंक मौज्दात सम्पत्ति ३६.१८ प्रतिशतले वृद्धि भई २ खर्ब ६६ अर्ब २७ करोड ७४ लाख ३६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो सम्पत्ति १ खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रुपैयाँ रहेको थियो ।
कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७३.१२ प्रतिशत र इक्विटीको अंश २६.८८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा दायित्व र इक्विटीको अंश क्रमशः ७४.६९ प्रतिशत र २५.३१ प्रतिशत रहेको थियो।
कुल दायित्वतर्फ चलनचल्तीमा रहेको नोटको अंश २८.२९ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप दायित्वको अंश ५९.१५ प्रतिशत, नेपाल सरकारको निक्षेप दायित्वको अंश ६.५६ प्रतिशत र अन्य दायित्वको अंश ५.९९ प्रतिशत रहेको छ।
२०८२ असार मसान्तको तुलनामा चलनचल्तीमा रहेको नोट ६.८७ प्रतिशतले वृद्धि भई ८ खर्ब १ अर्ब ६२ करोड ६७ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको नेपाल राष्ट्र बैंकमा रहेको स्वदेशी तथा विदेशी मुद्राको निक्षेप ५९.१३ प्रतिशतले वृद्धि भई १६ खर्ब ७५ अर्ब ९५ करोड ५८ लाख ८८ हजार रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो निक्षेप १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ३९ हजार रुपैयाँ रहेको थियो।
यस अवधिमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रहेको निक्षेप १६२.५९ प्रतिशतले वृद्धि भई १ खर्ब ८६ अर्ब ८५ लाख ३० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निक्षेप ७० अर्ब ८३ करोड ७० लाख ९९ हजार रुपैयाँ रहेको थियो।
यसैगरी, कुल इक्विटीमा ५४.०५ प्रतिशतले वृद्धि भएको छ । इक्विटीअन्तर्गत जगेडा कोष ५४.४५ प्रतिशतले वृद्धि भई १० खर्ब ३६ अर्ब ४३ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो कोष ६ खर्ब ७१ अर्ब २ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको थियो।
नेपाल राष्ट्र बैंकको सेयर पुँजी भने अघिल्लो आर्थिक वर्षकै स्तरमा कायम रहेको छ। २०८२ असार मसान्तमा ५ अर्ब रुपैयाँ रहेको सेयर पुँजी २०८३ असार मसान्तमा पनि ५ अर्ब रुपैयाँ नै रहेको छ।
प्रतिक्रिया दिनुहोस्