Skip to content

सेबोन र टोरोन्टो सेन्टरबीच संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

nabil
global ime

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र अन्तर्राष्ट्रिय संस्था टोरोन्टो सेन्टरका प्रतिनिधिमण्डलबिच बोर्डको संस्थागत क्षमता अभिवृद्धि, धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

धितोपत्र बजारको नियामकीय तथा सुपरिवेक्षकीय प्रणालीको वर्तमान अवस्था मूल्याङ्कन, विद्यमान चुनौती तथा आवश्यकताको पहिचान र संस्थागत क्षमता अभिवृद्धिका लागि आवश्यक कार्ययोजना तयार गर्ने उद्देश्यले मंसिर १ गते बोर्डमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशकसहित उच्च पदस्थ कर्मचारीहरूले नेपालको धितोपत्र बजारको कानुनी तथा नियामकीय व्यवस्था, बजारको वर्तमान अवस्था, संस्थागत स्रोतसाधन, बजार सहभागी, वित्तीय उपकरण, बजार आचरण, लगानीकर्ताका गुनासा तथा उजुरी व्यवस्थापन र वित्तीय साक्षरताका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

यसैगरी, धितोपत्र बजारको प्रभावकारी नियमन तथा विकास, जलवायु परिवर्तन र वातावरणीय जोखिमको वित्तीय क्षेत्रमा पर्ने प्रभाव, हरित वित्तका लागि भएका पहल तथा बजार सहभागीहरूको गतिविधि निगरानी र सुपरिवेक्षणका लागि आवश्यक सूचना प्रविधि पूर्वाधारलगायतका विषयमा समेत छलफल भएको थियो ।

टोरोन्टो सेन्टरको प्रतिनिधिमण्डलले नेपालको धितोपत्र बजारको नियामकीय तथा सुपरिवेक्षकीय अभ्यासको मूल्याङ्कन गर्दै संस्थागत क्षमता अभिवृद्धिका सम्भावित क्षेत्र र सुधारका आवश्यकताबारे सुझाव तथा कार्यदिशा पहिचानमा सहजीकरण गरेको थियो ।

यस कार्यक्रमबाट बोर्डको नियामकीय तथा सुपरिवेक्षकीय क्षमता सुदृढ हुनुका साथै जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको विकास, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको अवलम्बन र नेपालको धितोपत्र बजारलाई थप पारदर्शी, व्यवस्थित तथा विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डले जानकारी दिएकाे छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T