काठमाडौं । विपद्को समयमा नागरिकसम्म छिटो, सरल र प्रभावकारी रूपमा पूर्वसूचना पुर्याई जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको पहिलो चरणको प्राविधिक परीक्षण सम्पन्न भएको छ।
गृहमन्त्री सुदन गुरुङ तथा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा साँझ ६ बजे उक्त प्रणालीको सफल परीक्षण गरिएको हो।
नेपालकै दक्ष प्राविधिक जनशक्तिद्वारा स्वदेशमै विकास गरिएको यो प्रविधि विपद् पूर्वसूचना प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण उपलब्धि हो। यस प्रविधिमार्फत इन्टरनेटको आवश्यकता बिना निश्चित भौगोलिक क्षेत्रका मोबाइल फोनहरूमा एकैपटक आपत्कालीन सूचना प्रवाह गर्न सकिन्छ।

हाल सीमित प्राविधिक वातावरणमा सम्पन्न प्रारम्भिक परीक्षण सफल भएसँगै आगामी चरणमा पोखरामा एनसेलको सञ्जालमार्फत परीक्षण गरिनेछ। त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण सञ्चालन गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने लक्ष्य रहेको छ।
नेपालजस्तो बहुविपद् जोखिमयुक्त मुलुकमा नागरिकको जीवनरक्षाका लागि स्वदेशमै विकसित यस प्रविधिले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गृह मन्त्रालयले लिएको छ।









प्रतिक्रिया दिनुहोस्