काठमाडौं । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ । गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा लुइँटेललाई २५ हजार रूपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताए । पत्रकारिता क्षेत्रबाटै प्रतिनिधित्व गर्दै कार्यकारी भूमिकामा पुगेकाले सञ्चार क्षेत्रको विकास र विस्तारका विषयमा आफूले निरन्तर चिन्तन गरिरहेको उनको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमार्फत पत्रकारिता क्षेत्रलाई कानुनी आधार प्रदान गर्ने काम गरिरहेको जानकारी दिए । राज्यले सञ्चार क्षेत्रलाई नियमन गर्नुपर्ने सरोकारवालाको सुझाव सकारात्मक रहेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रले पनि राज्यलाई खबरदारी गर्नुपर्ने बताए ।
पुरस्कार ग्रहणपछि पत्रकार लुइँटेलले सम्मानले खुसीसँगै थप जिम्मेवारीबोध गराएको बताए । पत्रकारितामा प्राप्त सम्मानलाई आफ्नो कामप्रतिको दायित्व थपिएको रूपमा लिएको उनको भनाइ थियो ।
पत्रकारिता क्षेत्रमा चर्चाको शिखरमा पुगेका र बदनामीको गहिराइमा झरेका दुवैथरी व्यक्तिका अनुभव आफूले नजिकबाट देखेको उल्लेख गर्दै उनले ती दुवै अवस्थाबाट जोगिएर निरन्तर कर्ममा लागिरहने चाहना व्यक्त गरे ।
‘मेरै जीवनकालमा मैले चर्चाको शिखर चुमेका मानिसहरूदेखि लिएर यही क्षेत्रमा लागेर बदनामीको गहिराइसम्म पुगेका मानिसहरूको पनि अनुभूति गरेको छु । म यी दुवै चिजबाट जोगिन चाहन्छु । न त्यो उचाइमा पुग्न चाहन्छु, न बदनामीको गहिराइसम्मै पुग्न चाहन्छु । म जे छु, ठीक अवस्थामा छु,’ उनले भने ।
उनले पत्रकारितामा प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) ले थपेका चुनौतीबारे पनि चर्चा गरे । गुटेनबर्गको छापाखानादेखि आधुनिक छपाइ प्रविधि हुँदै मोबाइल पत्रकारितासम्म आइपुग्दा पत्रकारिताको स्वरूपमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उनले एआईको तीव्र विकासले पत्रकारिताको मानवीय पक्षमा असर पार्न सक्ने बताए ।
एआईको अत्यधिक प्रयोगले पत्रकारको बौद्धिक क्षमता, सिर्जनशीलता र अन्तर्वार्ता गर्ने सीपसमेत कमजोर बनाउँदै विस्थापनको जोखिम बढाउन सक्ने उनको चिन्ता थियो । एआईको प्रयोग र दुरुपयोगबारे समयमै बहस गर्दै यसको उचित प्रयोगका लागि आवश्यक नियमन गर्नुपर्नेमा उनले जोड दिए ।









प्रतिक्रिया दिनुहोस्