Skip to content

टाट पल्टेको सगुन सञ्चालक पैसा उठाउन पुनः सक्रिय, गिफ्ट बजारमा सक्रिय हुने सपना

काठमाडौं । मोबाइल एपबाट बिजुली उत्पादन गर्ने एप ल्याएको सगुनका सञ्चालकहरू गिफ्ट बजारमा केन्द्रित हुने भन्दै पैसा उठाउन पुनः सक्रिय भएका छन् ।

वित्तीय रूपमा टाट पल्टेको सगुनले सर्वसाधारणबाट ५० लाख ९० हजार अमेरिकी डलर उठाएको थियो । तर, कम्पनी टाट पल्टे पनि यसका संस्थापक गोविन्द गिरी सञ्चालकले भने फाइदा उठाएका हुन् ।

सन् २०१७ मा गोविन्द गिरीले भनेका थिए, ‘सगुनले छिट्टै सार्वजनिक गर्ने मोबाइल एपले विद्युतीय ऊर्जा उत्पादन गर्ने छ । मोबाइल फोनलाई एकपटक चार्ज गरेपछि फेरि कहिल्यै चार्ज गर्नुपर्ने छैन ।’

फेसबुकलाई फेल खुवाउने भनेर अमेरिकामा दर्ता भएको सगुनले विदेशमा बस्ने नेपालीबाट पैसा उठाएको थियो ।

सूचना प्रविधिमा फरक र अलग पहिचान बनाउन आफूहरूले छुट्टै एप निर्माण गर्न लागेको भन्दै उनीहरूले नेपालीबाट करोडौं उठाएका थिए ।

अमेरिकामा बस्दै आएका गोविन्द गिरी र कवीन्द्र सिटौलाले फेसबुकलाई चुनौती दिन आफूहरूले अर्कै प्लेटर्फम निर्माण गर्न लागेको प्रलोभन दिँदैै नेपालीहरूलाई लोभ्याएका थिए ।

उनीहरूले सगुन नामको एउटा सामान्य एप बनाएर हजारौं नेपालीलाई ठग्न सफल भएका थिए ।

सन् २०१५ मा अफिसियल रूपमा प्रारम्भ भएको दाबी गरिएको यो कम्पनीको भारत, नेपाल र अमेरिकामा कार्यालयहरू रहेको बताइन्छ । तर, एक दशकसम्म पनि यो कम्पनीको प्रगति शून्य छ ।

विश्वमा बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई उत्पादनशील बनाउने अवधारणाबमोजिम आइटीको नयाँ आयाम आर्टिफिसियल इन्टिलिजेन्ट, मेसिन लर्निङ सिस्टम तथा सोसियल स्मार्ट कार्डजस्ता नयाँ प्रविधिको विकास भइसकेको भम्र फैलाएर उनीहरूले सेयरमार्फत पैसा उठाएका थिए ।

उनीहरूले अमेरिकामा एउटा सामान्य कम्पनी खडा गरेर गैरआवासीय नेपाली, व्यापारीदेखि खाडीमा सामान्य मजदुरी गर्ने श्रमिकलाई ठगेका थिए । झन्डै ५ हजार नेपालीकोे पैसा उनीहरूले ठगेका हुन् ।

एक भारतीय नायिकालाई कम्पनीको सद्भावना दूत बनाएर उनीहरूले नेपालीको आँखामा छारो हाल्दै पैसा उठाएका थिए ।

अमेरिकामा बस्ने सोझा नेपालीहरूको पैसा गिरी र सिटौलाले डुबाइ दिएका हुन्। ‘चिल्ला कुरा गरेर नहुने–नहुने सपना देखाउँछन् । यस्तो एप त दुई हजार डलरमा बन्छ । सबै हावा हो,’ अमेरिकामा प्रविधि व्यवसाय गर्दै आएका एक नेपालीले भने ।

सगुनले छिट्टै मार्क जुकरबर्गको फेसबुक (मेटा)लाई टक्कर दिने दाबी गिरी र सिटौलाको थियो । उनीहरूले यो सञ्जाल चलाउने प्रयोगकर्ताले सुनका सिक्का र डलर पाउनेसमेत प्रलोभन देखाएका थिए ।

‘यसमा लगानी गरेकाहरूले दुई वर्षमै डबल पाइन्छ भनिएको थियो । मैले पनि ५ हजार डलर हालेको थिएँ । ७ वर्ष भयो । सबै गफ रहेछ । ठगहरू रहेछन्,’ यूएईबाट लगानी गरेका एक व्यक्तिले पीडा सुनाए ।

यिनै संस्थापक गिरी यतिबेला फेरि खाडीमुलुक र मलेसियामा गफ दिएर पैसा उठाउन हिँडेका छन् । कतारमा उनले कम्पनी राम्रो हुँदै गएकाले प्रतिफल आउन धैरै समय नलाग्ने भन्दै गफ दिएका थिए ।

कतारका व्यवसायीहरूलाई भेला पारेर कम्पनीलाई यो बेला थप पैसाको खाँचो रहेकाले लगानी गर्न आग्रह गरेका थिए । उनीहरूको यो ठग्ने उद्देश्यबाहेक अरू केही नभएको यसमा पहिला लगानी गरेकाहरूले नै बताउँछन् ।

‘अब कोही पनि भम्रमा नपर्नुहोला,’ वासिंटन डिसीमा बस्ने एक लगानीकर्ताले भने ।

कतारमा आयोजित कार्यक्रममा गिरीले कम्पनी अब गिफ्ट बजारमा केन्द्रित हुने भन्दै नेपालमा अब गिफ्टको बजार १ अर्ब अमेरिकी डलर पुग्ने र भारतको ३० अर्बको र विश्व बजारमा ४ सय अर्बको भएको भन्दै गिफ्टमा कम्पनी केन्द्रित हुने बताए ।

‘सामाजिक सञ्जालमा केन्द्रित हुँदा व्यक्तिगत सम्बन्धहरू बिग्रेका छन्’ गिरीले कतारमा आयोजित कार्यक्रममा भने,‘सगुन गिफ्ट बजारमा केन्द्रित हुन्छ ।’ उनले भारतमा सादी डटकमसँग र राजकपुरसँग कुरा गरेको जानकारी दिए । सगुनले विगतमा पनि हिन्दुस्तान टाइम्सले सेयर किनेको भन्दै भम्र छरेको थियो । कतारमा आयोजित कार्यक्रममा कतारमा व्यवसाय गर्ने नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली अभियन्ताहरू सहभागी थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T