Skip to content

ऋण पुनर्संरचनापछि जापानद्वारा श्रीलङ्कालाई आर्थिक सहयोग पुनः सुरु

nabil bank
सफलतापूर्वक आफ्नो विदेशी ऋणको पुनर्संरचना गरेपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसहित श्रीलङ्कामा रोकिएका पूर्वाधार परियोजनाहरूमा जापानले पुनः आर्थिक सहयोग सुरु गरेको सरकारी अधिकारीहरूले बुधबार बताएका छन् ।
दुई वर्षअघि अभूतपूर्व आर्थिक सङ्कटका बेला श्रीलङ्काले ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा जापानलगायत द्विपक्षीय ऋणदाताहरूले परियोजना कोषमा कटौती गरेका थिए ।
“जापान निलम्बित परियोजनाहरूका लागि आर्थिक सहयोग पुनः सुरु गर्ने पहिलो मुलुक हो”, श्रीलङ्कामा जापानका राजदूत हिदेकी मिजुकोशीले पत्रकारहरूसँग भन्नुभयो ।
श्रीलङ्काको वित्त मन्त्रालयका एक अधिकारीका अनुसार जापानले आगामी साताहरूमा कोलम्बो विमानस्थलको विस्तारसहित कोलम्बोको सार्वभौम ‘डिफल्ट’ पछि निलम्बित ११ परियोजनाहरूका लागि करिब सात करोड ५० लाख डलरको पहिलो किस्ता जारी गर्नेछ ।
श्रीलङ्काली अधिकारीहरूका अनुसार श्रीलङ्कामा जापानको ऋणको पोर्टफोलियो दुई अर्ब ३० करोड डलर रहेको अनुमान गरिएको छ । त्यस्तै जापान अर्को एक अर्ब १० करोड डलरको चालु परियोजनाहरूका लागि प्रतिबद्ध रहेको छ र यसलाई आगामी पाँच वर्षमा वितरण गरिनेछ ।
द्विपक्षीय ऋण पुनर्संरचना सबै ऋणदाताहरूका लागि ‘तुलनायोग्य व्यवहार’ का साथ निष्पक्ष तरिकाले गरिएकामा टोक्यो सन्तुष्ट रहेको जापानी राजदूतले बताउनुभयो ।
चीनपछि जापान श्रीलङ्काका लागि दोस्रो सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता हो ।
कोलम्बोले चार हप्ताअघि आफ्नो द्विपक्षीय ऋणदाताहरूसँग १० अर्ब डलरसम्मको ऋण कभर गर्न पुनर्संरचना सम्झौता गरेको थियो । यो सन् २०२२ को वित्तीय दुर्घटनापछि सुधारको दिशामा महत्त्वपूर्ण कदम हो ।
त्यतिबेला विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण श्रीलङ्का खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुहरूको आयात गर्न असमर्थ हुँदा मुलुकले महिनौँसम्म व्यापक अभावको सामना गर्नुपरेको थियो ।
आक्रोशित जनताको भिडले तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेको घरमा आक्रमण गरेपछि उहाँ अस्थायीरूपमा विदेश भाग्नुपरेको थियो । विदेशबाटै उहाँले राजीनामा दिनुभएको थियो ।
उहाँका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको राहत प्याकेजमा सम्झौता गर्नुभयो । उहाँले मुलुकको बिग्रिएको वित्तीय अवस्था पुनःस्थापित गर्न सहयोग गर्न करहरू बढाउनुभएको छ र उदार सार्वजनिक अनुदानमा कटौती गर्नुभएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life